
एजेन्सी । युरोपेली महिला क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेग खेलमा बार्सिलोना विजयी भएको छ ।
बुधवार राति भएको पहिलो लेगअन्तर्गत खेलमा नर्वेजियन क्लब ब्रानमाथि २–१ को जित निकाल्दै बार्सिलोना विजयी भएको हो ।
नर्वेजियन क्लबको घरेलु मैदान असाने एरिना रंगशालामा भएको खेलमा ९ औं मिनेटमा कारोलिन ग्राहम हन्सेनको गोलमार्फत् स्पेनिस टोलीले सुरुवाती अग्रता लियो ।
तर, ३९ औं मिनेटमा घरेलु टोलीका लागि सेसिली रेडिस केभामले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि दोस्रो हाफको ७२ औं मिनेटमा अैटाना बोन्मतीको पासमा सल्मा पारालुयलोले गोल गर्दा क्याटलान क्लब २–१ ले विजयी भयो ।
जितसंगै बार्सिलोनाले दोस्रो लेग खेल अगाडी एक गोलको अग्रता लिएको छ ।
यता, गयराति नै भएको अर्को क्वाटरफाइनलअन्तर्गत पहिलो लेग खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले स्विडिस क्लब बिके ह्याकेनमाथि २–१ को जित निकाल्यो ।
ह्याकेनको घरेलु मैदान ब्राभिडा एरिना रंगशालामा भएको खेलमा पिएसजीले २३ औं मिनेटमा इभा गेटिनोको गोलमार्फत् सुरुवाती अग्रता लियो ।
तर, ४२ औं मिनेटमा रोसा काफाजीले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, ७४ औं मिनेटमा टाबिथा चाविङ्गाले गोल गर्दा पिएसजी २–१ ले विजयी भयो ।
जितसंगै पिएसजीले दोस्रो लेगको खेल अगाडीसम्म एक गोलको अग्रता लिएको छ ।