एजेन्सी । इंग्लिस क्लब चेल्सीले युरोपेली महिला फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेग खेलमा सहज जित निकालेको छ ।
मंगलवार राति भएको खेलमा लण्डन क्लब चेल्सीले डच क्लब आयाक्समाथि ३–० को सहज जित निकालेको हो ।
आयाक्सको घरेलु मैदान जोहान क्रुफ एरिना रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीको जितमा सोक नुस्केनले दुई गोल गदाए अर्को एक गोल लौरेन जेम्सले गरिन् ।
खेल सुरु भएको १९ औं मिनेटमा जेम्सले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाइन् ।
त्यसपछि पहिलो हाफको अन्त्यतिर ४४ औं मिनेटमा नुस्केनले गोल गर्दा चेल्सी पहिलो हाफसम्ममा २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ८३ औं मिनेटमा नुस्केनले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा चेल्सी ३–० ले विजयी भयो ।
सहज जितसंगै चेल्सीले क्वाटरफाइनलअन्तर्गत दोस्रो लेग खेल अगाडी ३ गोलको स्पष्ट अग्रता लिएको छ ।
त्यस्तै, मंगलवार राति नै भएको अर्को क्वाटरफाइनल खेलमा फ्रान्सेली क्लब ओलम्पिक लियोनेसले पोर्चुगिच क्लब बेन्फिकामाथि २–१ को जित हासिल गरेको छ ।
बेन्फिकाको घरेलु मैदान इस्टाडियो दो स्पोर्ट लिस्बोआ इ बेन्फिका रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीले पुनरागमन जित हासिल गरेको हो ।
खेलको ४३ औं मिनेटमा एन्ड्रेया फारियाको गोलमार्फत् घरेलु टोलीले सुरुवाती अग्रता लियो ।
तर दोस्रो हाफको ६३ औं मिनेटमा डेलफिन क्यासकारिनोले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याइन् ।
त्यस्तै, ७९ औं मिनेटमा सारा डाब्रिजले गोल गर्दै ओलम्पिक लियोनेसलाई २–१ ले जिताए ।
पुनरागमन जितसंगै क्वाटरफाइनलको दोस्रो लेग अगाडीसम्म ओलम्पिक लियोनेसले १ गोलको अग्रता लिएको छ ।