
भक्तपुर । नेपालले ९ औं संस्करणको एसीसी महिला टि–२० एसिया कपमा विजयी सुरुवात गरेको छ ।
शुक्रवार भएको उद्घाटन खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा एसियाली महिल शीर्ष प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
श्रीलंकाको दमबुल्लास्थित रानगिरी दमबुल्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै ११८ रन जोड्यो ।
नेपाललाई जिताउन ओपनर ब्याटर सम्झना खड्काले ४५ बलमा ११ चौका प्रहार गर्दै सर्वाधिक ७२ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहिन् ।
त्यस्तै, पुर्व कप्तान रुविना क्षेत्रीले ८ बलमा १ चौका प्रहार गर्दै १० रन जोडेर आउट हुँदा अर्का ओपनर सिता राणामगर ७, कप्तान इन्दु बर्मा ६ र कविता कुनुवार २ रनमा पेविलियन फर्किइन् ।
यता, पुजा महतो भने ७ रनमा अविजित रहिन् ।
नेपालले अतिरिक्त रुपमा १४ रन जोड्यो ।
युएईका लागि काभिशा इगोदागेले ४ ओभर बलिङ गर्दै १ मेडनसहित १२ रन दिएर ३ विकेट लिँदा लाभान्या केनीले १ विकेट लिइन् ।
त्यसअघि टस जितेको नेपालले युएईलाई पहिला ब्याटिङमा निम्त्यायो ।
युएईले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै ११५ रन जोड्यो ।
युएईका लागि खुशी शर्माले ३९ बलमा २ चौका प्रहार गर्दै ३६ रन जोड्दा काभिसा इगोडागेले २६ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किन् ।
त्यस्तै, समैरा धर्निधर्काले १२ बलमा २ चौका प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा कप्तान इशा ओजा ९ बलको सामना गर्नेक्रममा २ चौका प्रहार गर्दै १० रन जोडेर रनआउट भइन् ।
यता, विकेटकिपर थिर्थ सतिश र हिना होट्चान्दनी समान ९–९, रिनिथा राजिथ ६ रनमा आउट हुँदा वैस्नभे महेश अंकको खाता नै नखोली पेविलियन फर्किन् ।
रिथिका राजिथ ६ र लाभान्या केनी २ रनमा अविजित रहिन् ।
युएईले अतिरिक्त रुपमा २ रन जोड्यो ।
नेपालका लागि कप्तान इन्दु बर्माले ४ ओभर बलिङ गर्नेक्रममा १९ रन दिएर ३ विकेट लिँदा सबनम राई र कृतिका मरासिनीले समान १–१ विकेट लिइन् ।