
एजेन्सी । बंगलादेशमाथि जित निकाल्दै श्रीलंकाले नवौं संस्करणको एसीसी महिला टि–२० एसिया कपमा सुखद सुरुवात गरेको छ ।
सनिवार राति भएको खेलमा बंगलादेशमाथि ७ विकेटको जित निकाल्दै आयोजक राष्ट्र श्रीलंकाले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
सहज जितसंगै समूह ‘बी’ मा श्रीलंकाले २ अंक जोडेको छ ।
रनगिरी दमबुल्लाह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा ११२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको घरेलु टोलीले ११ ओभरमा ३ विकेट गुमाउँदै ११४ रन जोड्यो ।
श्रीलंकाको जितमा ओपनर ब्याटर भिश्मी गुनारत्नेले ४८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकिय पारी खेल्दा हरशिथा समराविक्रमाले ३१ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै ३३ रन जोडेर पेविलियन फर्किइन् ।
त्यस्तै, कप्तान चमारी अथापथ्थुले १२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा काभिशा दिलहारीले ८ बल खेल्दै २ चौका प्रहार गरेर १२ रन जोडेर अविजित रहिन् ।
यता, हासिनी परेराले १ रन जोडेर अविजित रहिन् ।
श्रीलंकाले अतिरिक्त रुपमा ५ रन जोड्यो ।
बंगलादेशका लागि निहिदा अक्टेरले ३ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १११ रन जोड्यो ।
बंगलादेशका लागि कप्तान तथा विकेटकिपर निगर सुल्टानाले ५९ बलमा ६ चौका प्रहार गर्दै ४८ रन जोड्दा शोर्ना अक्टेरले १४ बल खेल्नेक्रममा ५ चौका प्रहार गर्दै २५ रन जोडेर पेविलियन फर्किइन् ।
त्यस्तै, रबेया खातुनले १३ बलमा १ चौका मद्दतमा १० रन जोडेर आउट हुँदा दिलारा अक्टेर ६, शोरिफा खातुन ५ र रितु मोनी ३ रनमा पेविलियन फर्किन् ।
नाहिदा अक्टेर४ रनमा अविजित रहँदा बंगलादेशका ३ ब्याटरले अंकको खाता नै खोल्न सकेनन् ।
बंगलादेशले अतिरिक्त रुपमा १० रन जोड्यो ।
बंगलादेशललाई सस्तैमा समेत्न श्रीलंकाका लागि उदेशिका प्रबोधानी र इनोशी प्रियार्शनी २–२ विकेट लिँदा चमारी अथापाथ्थु, काभिशा दिलहारी र सुगानदिका कुमारीले १–१ विकेट लिइन् ।