
एजेन्सी । श्रीलंकामा जारी ९ औं संस्करणको एसीसी महिला टि–२० एसिया कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
समूह चरणका खेलहरु सम्पन्न भएसंगै एसियाली महिला क्रिकेटको शीर्ष प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।
प्रतियोगिताको अन्तिम चारमा साविक विजेता भारतसंगै साविक उपविजेता श्रीलंका बंगलादेश र पाकिस्तान प्रवेश गरेका छन् ।
समूह ‘ए’ बाट शतप्रतिशत जितका साथ भारत समूह विजेता र पाकिस्तान उपविजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्दा समूह ‘बी’ बाट श्रीलंका शतप्रतिशत जितका साथ समूह विजेता र बंगलादेश उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्यो ।
प्रतियोगिताबाट नेपालसहित युनाइटेड अरब इमिरेट्स थाइल्याण्ड र मलेसिया भने समूह चरणबाटै घर फर्किएको छ ।
सेमिफाइनलका खेलहरु शुक्रवार हुनेछ ।
पहिलो खेलमा भारतले बंगलादेशसंग नेपाली समयअनुसाृर दिउँसो सवा दुई बजे खेल्नेछ ।
त्यस्तै, दोस्रो सेमिफाइनल खेल साँझ सवा सात बजे घरेलु टोली श्रीलंकाले पाकिस्तानसंग खेल्ने तालिका रहेको छ ।
सेमिफाइनलमा विजयी हुने दुई टोलीबीच उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा हुनेछ ।