
एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले स्पेनिस घरेलु फुटबल प्रतियोगिता सुपरकोपा दि इस्पानाको सेमिफाइनल खेलमा एट्लेटिको डि मड्रिडमाथि प्रतिस्पर्धात्मक जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको सेमिफाइनलअन्तर्गत खेलमा रियल मड्रिडले चिरपरिचित सहरी प्रतिद्वन्दी एट्लेटिको डि मड्रिडमाथि ५–३ को प्रतिस्पर्धात्मक जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको हो ।
साउदी अरवियाको रियादस्थित अल अवाल पार्क एट किंग साउद युनिभर्सिटी रंगशालामा भएको मड्रिड डर्बीमा रियलका लागि एन्टोनिय रुड्रिगर, फेर्लान्ड मेन्डे, ड्यानी कार्भाजल, जोसेलु र ब्राहिम डाइजले गोल गरे ।
त्यस्तै, एट्लेटिकोका लागि मारियो हेर्मोसो र एन्टोनियो ग्रिजमनले गोल गर्दा अर्को एक गोल रियलका रुड्रिगरको आत्मघाती गोलमार्फत प्राप्त भयो ।
खेल सुरु भएको छैटौं मिनेटमा ग्रिजमनको पासमा हेर्मोसोले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाए ।
तर, २० औं मिनेटमा लुका मोड्रिचको पासमा रुड्रिगरले बराबरी गोल गर्दै रियललाई खेलमा १–१ को स्थितिमा ल्याए ।
२९ औं मिनेटमा कार्भाजलको पासमा मेन्डेले गोल थप्दा रियल खेलमा २–१ ले अघि बढ्यो ।
तर, ३७ औं मिनेटमा रोड्रिगो डि पाउलको पासमा ग्रिजमनले एट्लेटिकोका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
यता, दोस्रो हाफको ७८ औं मिनेटमा रियलका डिफेन्डर रुड्रिगरले आत्मघाती गोल गर्न पुग्दा एट्लेटिको ३–२ ले अघि बढ्यो ।
तर, ८५ औं मिनेटमा कार्भाजलले रियलका लागि गोल फर्काउँदा खेल ३–३ को बराबरीमा आयो ।
निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकिएसंगै खेल अतिरिक्त ३० मिनेट लम्बियो ।
रोमाञ्चक खेलको ११६ औं मिनेटमा कार्भाजलको पासा जोसेलुले गोल गर्दै रियललाई खेलमा ४–३ ले अघि बढाए ।
त्यसपछि १२० मिनेटको समयपछि गपिएको इन्जुरी समयको दोस्रो मिनेटमा जोसेलुको असिस्टमा कार्भाजलले गोल थप्दै रियललाई ५–३ को जित दिलाए ।
अब रियल मड्रिडले सुपरकोपाको उपाधिका लागि बार्सिलोना र ओसासुनाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।