
एजेन्सी । चिरपरिचित प्रतिद्वन्दी बार्सिलोनामाथि फराकिलो जित हासिल गर्दै रियल मड्रिडले स्पेनिस फुटबल प्रतियोगिता सुपरकोपा दि इस्पानाको उपाधि जितेको छ ।
आईतवार राति भएको फाइनल खेलमा साविक विजेता समेत रहेको बार्सिलोनामाथि ४–१ को फराकिलो जित हासिल गर्दै रियल मड्रिडले सुपरकोपा दि इस्पानाको उपाधि जितेको हो ।
योसंगै गएको सिजन बार्सिलोनासंग हारेको बदला पनि मड्रिडले लिएको छ ।
साउदी अरबियाको अल अवाल एट किंग साउद युनिभर्सिटी रंगशाला भएको फाइनल खेलमा मड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक हान्दा रोड्रिगोले अर्को एक गोल थपे ।
पराजित बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीको गोल सान्तोनामै सिमित बन्यो ।
एल क्लासिकोका रुपमा समेत चिनिने यी दुई प्रतिद्वन्दीबीचको फाइनल खेल सुरु भएको सातौं मिनेटमा जुडे बेलिङघमको पासमा भिनिसियसले गोल गर्दै मड्रिडलाई सुरुवाती अग्रता दिलाए ।
त्यसको तीन मिनेटपछि नै रोड्रिगोको पासमा भिनिसियसले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा मड्रिड २–० ले अघि बढ्यो ।
तर, ३३ औं मिनेटमा लेवान्डोस्कीले गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
यता, ३९ औं मिनेटमा भिनिसियसले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दा मड्रि ३–१ को सहज अग्रतातर्फ अघि बढ्यो ।
त्यसपछि दोस्रो हाफको ६४ औं मिनेटमा रोड्रिगोले गोल थप्दा मड्रिड ४–१ ले अघि बढ्यो ।
उता, खेलको ७१ औं मिनेटमा रोनाल्ड अराउजोले दोहोरो पँहेलो कार्ड पाउँदा बार्सिलोना १० खेलाडीमा समेतियो ।
त्यसपछि खेलमा थप गोल निस्किएन ।
क्रीतिमानी १४ औं पटकका विजेता क्याटलान क्लबमाथि फराकिलो जितसंगै मड्रिडले १३ औं सुपरकोपाको उपाधि जित्न सफल भयो ।