एजेन्सी । स्पेनिस महारथी क्लब रियल मड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।
सनिवार राति भएको उपाधि भिडन्तमा एसियाली क्लब अल हिलालमाथि ५–३ गोलअन्तरले जित हात पार्दै क्लब विश्वकपको उपाधि जितेको हो ।
स्टेट प्रिन्स मौले अब्दल्ला रंगशालामा भएको खेलमा मड्रिडका लागि भिनिसियस जुनियर र फेड्रिको भाल्भार्डेले २–२ गोल गर्दा करिम बेन्जामाको नाममा १ गोल रह्यो । यता, पराजित टोलीका लागि लुसियानो भिट्टोले २ गोल गर्दा अर्को १ गोल मौउसा मारेगाले गरेका थिए ।
८ गोल भएको खेलमा १३ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि १८ औं मिनेटमा भाल्भार्डेले गोल गर्दा मड्रिड खेलमा २–० ले अगाडी बढ्यो ।
२६ औं मिनेटमा मौउसाले गोल फर्काउँदै अरवेली टोलीले खेलमा फर्कन प्रयास गर्यो । पहिलो हाफ २–१ ले अघि रहेको मड्रिडले ५४ औं मिनेटमा बेन्जामाको गोलमार्फत खेलमा ३–१ को अग्रता लियो ।
त्यसपछि ५८ औं मिनेटमा भाल्भार्डोले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा खेलमा मड्रिड ४–१ ले अघि बढ्यो । ६३ औं मिनेटमा भिट्टोको गोलमार्फत अल हिलालले दोस्रो गोल गर्दा खेल ४–२ को अवस्थामा आइपुग्यो ।
यता, ६९ औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेपछि खेलमा मड्रि ५–२ ले अघि बढ्यो । भिट्टोले ७९ औं मिनेटमा गोल थप्दा खेल ५–३ को अवस्थामा पुग्यो ।
त्यसपछि थप गोल निस्किएन र साविक यूईएफए च्यापियन्स लिग विजेता मड्रिडले क्लब विश्वकपको फाइनल खेल जित्दै उपाधि उचाल्यो ।
स्पेनिस क्लबले यसअघि ४ पटक विश्वकप उपाधि उचालिसकेको थियो । यसअघि मड्रिडले सन् २०१४, २०१६, २०१७ र २०१८ मा उपाधि जितेको थियो ।
हरेक महादेशका च्याम्पियन्स लिग विजेता टोलीले क्लब विश्वकपमा प्रतिस्पर्धा गर्ने व्यवस्था रहेको छ ।