एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियामाथि संघर्षपूर्ण जित हात पारेको छ ।
आइतवार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले भ्यालेन्सियामाथि १–० को संघर्षपूर्ण जित हात पारेको हो ।
क्याम्प नौमा भएको खेलमा घरेलु टोली बार्सिलोनाका लागि एकमात्र निर्णायक गोल १५ औं मिनेटमा सर्जियो बस्क्वेटको पासमा राफिन्हाले गरे ।
पहिलो हाफ १–० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफको ५५ औं मिनेटमा गोलअन्तर बढाउने सुनौलो अवसर खेर फाल्यो । बार्सिलोनाले पाएको पेनाल्टीमा फेरान टोरेस चुकेपछि बार्सिलोनाले अग्रता दोब्बर पार्न सकेन ।
त्यसपछि ५९ औं मिनेटमा रोनाल्ड अरौजो रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा बार्सिलोना १० खेलाडीमा समेतियो ।
जितसंगै बार्सिलोनाले २४ खेलमा ६२ अंक जोडेको छ । यो भनेको बार्सिलोकाको दाँजोमा एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको रियल मड्रिडको भन्दा १० अंक बढी हो ।
पराजित भ्यालेन्सियाको २४ खेलमा २३ अंक छ । भ्यालेन्सिया लिग तालिकाको १९ औं स्थानमा रहेको छ ।