भक्तपुर । पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपमा भुटानीज युथ एससी युएसएले ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा भएको खेलमा मनाङ भुटानीज युथसंग १–० ले पराजित भएको हो ।
प्रदिप हुमागाइको नेतृत्वमा रहेको भुटानीज युथले पहिलो हाफमा एकमात्र निर्णायक गोल गरेको थियो । भुटानीज टिमका लागि प्रविन बस्नेतले निर्णायक गोल गरेका थिए । उनी खेलको म्यान अफ दि म्याच समेत चुनिए ।
जितसंगै भुटानीज युथ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
यता, मनाङका नव नियुक्त प्रशिक्षक किरण श्रेष्ठको डेब्यु सुखद हुन सकेन । मनाङ आहा राराको ६ पल्टको विजेता टोली समेत हो ।
प्रतियोगिताअन्तर्गत भोली बुधवारबाट सेमिफाइनलका खेल सुरु हुनेछ ।