भक्तपुर । काठमाडौंमा जारी प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत दोस्रो खेलमा लाओसले भुटानमाथि महत्वपूर्ण जित हात पारेको छ ।
सनिवार भएको खेलमा लाओसले भुटानमाथि महत्वपूर्ण २–१ को जित हात पारेको हो ।
प्रतियोगितामा जिवित रहन लाओसलाई भुटानविरुद्व निश्चित जित आवश्यक रहेको थियो । जसमा लाओसले चुकेन ।
लाओसको जितमा बोन्पाचान बोन्कोंगले २ गोल गरे । यता, पराजित टोलीका लागि छेम्जो ग्याल्सेनले १ गोल फर्काए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा तेस्रो मिनेटमै बोन्पाचान बोन्कोंगले गोल गर्दै लाओसलाई १–० ले अग्रता दिलाए ।
प्रतिस्पर्धात्मक खेलको ३४ औं मिनेटमा भुटानका कप्तानसमेत रहेका छेम्जो ग्याल्सेनले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्यायो ।
रोमाञ्चक खेलको ७० औं मिनेटमा पुनः बोन्पाचानले गोल गर्दा लाओस खेलमा २–१ ले अघि बढ्यो ।
त्यसपछि खेलमा दुबै टोलीले केहि राम्रा अवसर सिर्जना गरे तापनि थप गोल भने निस्किन सकेन ।
महत्वपूर्ण जितसंगै लाओसले २ खेलमा ३ अंक जोडेको छ । यसअघि पहिलो खेलमा लाओस घरेलु टोली नेपालसंग २–० ले पराजित भएको थियो ।
लाओसको जितसंगै प्रतियोगितामा सामेल तीनै टोलीको फाइनल पुग्ने सम्भावना कायमै छ ।
खेलको म्यान अफ द म्याच लाओसका बोन्पाचान बोन्कोंग घोषित भए । उनले आकर्षक ट्रफीसंगै २५० अमेरिकी डलर प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत राउण्ड एन्ड रोविनको अन्तिम खेलमा चैत्र १४ गते नेपाल र भुटान खेल्नेछ ।
उक्त खेलबाट फाइनल पुग्ने समिकरण तय गर्नेछ ।