भक्तपुर । भुटानमाथि फराकिलो जित निकाल्दै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
आईतवार भएको सेमिफाइनल खेलमा भुटानमाथि ७–१ को फराकिलो जित निकाल्दै साविक विजेता समेत रहेको बंगलादेश फाइनलमा प्रवेश गरेको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा उपाधि रक्षा अभियानमा रहेको बंगालदेशलाई जिताउन तोहुरा खातुनले ह्याट्रिक हान्दा सविना खातुनले दुई, रितु पुर्णा चक्मा र मासुरा प्रविनले एक–एक गोल गरिन् ।
पराजित भुटानका लागि भने देकी ल्हाजोमले सान्तोना गोल फर्काइन् ।
खेल सुरु भएको सातौं मिनेटमा रितुको गोलमार्फत् बंगलादेशले सुरुवाती अग्रता लियो ।
त्यसपछि १५ औं मिनेटमा तोहुराले गोल गर्दा बंगलादेश २–० ले अघि बढ्यो ।
त्यस्तै, २६ औं मिनेटमा सविनाले गोल गर्दा साविक विजेता टोली ३–० ले अघि बढ्यो ।
यता, ३५ औं मिनेटमा तोहुराले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा बंगलादेश ४–० को फराकिलो गोलअन्तरले अघि बढ्यो ।
त्यसको दुई मिनेटपछि नै सविनाले पनि दोस्रो गोल थप्दा बंगलादेश ५–० ले अघि बढ्यो ।
पहिलो हाफको अन्त्यतिर ४१ औं मिनेटमा देकीले भुटानका लागि गोल फर्काउँदा खेल ५–१ को स्थितिमा रह्यो ।
दोस्रो हाफको ५८ औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गर्दा बंगलादेश ६–१ ले अघि बढ्यो ।
त्यस्तै, ७२ औं मिनेटमा मासुरा प्रविनले गोल थप्दा बंगालदेश ७–१ ले विजयी भयो ।