भक्तपुर । बंगलादेशमा जारी १७ वर्षमूनीको महिला साफ (साफ यू–१७) च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा नेपालले फराकिलो जित हात पारेको छ ।
प्रतियोगिताअन्तर्गत बुधवार भएको खेलमा नेपालले भुटानमाथि ५–० को फराकिलो जित हात पारेको हो ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल रंगशलामा भएको खेलमा नेपालका लागि वर्षा ओली र सेनु परियारले समान २–२ गोल गर्दा दिपा रोकायाले अर्को गोल थपिन् ।
खेलको १६ औं मिनेटमा नेपालले वर्षाको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो ।
३० औं मिनेटमा दिपाले गोल गरेपछि खेलमा नेपाल २–० ले अघि बढ्यो । त्यसपछि खेलको ३४ औं मिनेटमा सेनुले गोल .गर्दा नेपाल पहिलो हाफमा ३–० को आरामदायी अवस्थामा पुग्यो ।
दोस्रो हाफको ५० औं मिनेटमा वर्षाले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा नेपाल ४–० ले अघि बढ्यो ।
त्यसपछि खेलको ५८ औं मिनेटमा सेनुले पनि गोल थप्दा नेपाल ५–० को फराकिलो गोलअन्तरले विजयी भयो ।
महत्वपूर्ण जितसँगै नेपालले तालिकामा ३ अंक जोड्यो । यसअघि पहिलो खेलमा नेपाल भारतसंग पराजित भएको थियो ।
५ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।