
एजेन्सी । सह–आयोजक राष्ट्र संयुक्त राज्य अमेरिकालाई पराजित गर्दै भारत ९ औं संस्करणको आईसीसी टि–२० विश्वकपको सुपर ६ मा प्रवेश गरेको छ ।
बुधवार राति भएको खेलमा उच्च लयमा रहेको एसोसियट राष्ट्र संयुक्त राज्य अमेरिकालाई ७ विकेटले पराजित गर्दै उपाधि दाबेदार भारत सुपर ६ मा प्रवेश गरेको हो ।
भारत ३ खेलबाट शतप्रतिशत जित आत्मसाथ गर्दै ६ अंक जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा कायम रह्यो ।
पराजित अमेरिकाको समान ३ खेलबाट २ खेलमा जित र १ खेलमा हारको नतिजाका साथ ४ अंकसहित तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।
अमेरिकाको न्युयोर्कस्थित नासौ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १११ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको भारतले १८.२ ओभर ३ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतको जितमा सुर्यकुमार यादवले ४९ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकिय पारी बनाउँदै अविजित रहँदा शिभम् दुबेले ३५ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्दै ३१ रन जोडेर अविजित रहे ।
त्यस्तै, विकेटकिपर रिशभ पन्तले २० बलमा १ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यानद्वय कप्तान रोहित शर्मा ३ र पुर्वकप्तान विराट कोहोली शुन्य रनमा पेविलियन फर्किए ।
भारतले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
अमेरिकाका लागि सौरभ नेत्रभाल्करले ४ ओभर बलिङ गर्दै १८ रन दिएर २ विकेट लिँदा अली खानले ३.२ ओभर बलिङ गर्दै २१ रन खर्चिएर १ विकेट लिए ।
त्यसअघि टस जितेको भारतले अमेरिकालाई पहिला ब्यटिङमा निम्यायो ।
अमेरिकाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै ११० रन जोड्यो ।
अमेरिकाका लागि नितिश कुमारले २३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान स्टेभेन टेलरले ३० बल खेल्नेक्रममा २ छक्का प्रहार गर्दै २४ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, कोरे एडरसनले १२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा शाड्ले भान स्चल्कवेकले १० बल खेल्दै १ चौका मद्दतमा ११ रन जोडेर अविजित रहे ।
यता, कप्तान आरोन जोन्सले २२ बल सामना गर्नेक्रममा १ छक्का प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किदा हरमित सिंहले १० बलमा १ छक्का प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।
जसदिप सिंह २ रनमा रनआउट हुँदा विकेटकिपर एन्ड्रेस गौस २ र अर्का ओपनर शयान जहाङगिर शुन्य रनमा पेविलियन फर्किए ।
अमेरिकाले अतिरिक्त रुपमा ८ रन जोड्यो ।
भारतका लागि अर्शदिप सिंहले ४ ओभर बलिङ गर्दै ९ रन दिएर सर्वाधिक ४ विकेट लिँदा हार्दिक पाण्डेयाले ४ ओभरमा १ मेडन राखेर १४ रन दिँदै २ विकेट लिए ।
त्यस्तै, अक्षर पटेलले ३ ओभर बलिङ गर्दै २५ रन खर्चिएर १ विकेट लिए ।