एजेन्सी । भारतले ९ औं संस्करणको आईसीसी टि–२० विश्वकपको उपाधि जितेको छ ।
सनिवार राति भएको फाइनल खेलमा बलियो प्रत्याशी दक्षिण अफ्रिकामाथि ७ रनको जित हासिल गर्दै भारतले टि–२० विश्वकपको उपाधि जितेको हो ।
प्रतियोगिताको सबै ९ खेलमा जित हासिल गर्दै भारतले टि–२० ढाँचाको विश्वकप दोस्रो पटक जित्न सफल रह्यो ।
यसअघि सन् २००७ मा भारतले पहिलो पल्ट टि–२० विश्वकपको उपाधि जिेतको थियो ।
समग्रमा भने भारतले सन् २०११ पछि पहिलो विश्वकपको उपाधि जितेको हो ।
गत साल भारतमै भएको एकदिवसिय विश्वकपमा भने भारत उपविजेतामै सिमित भएको थियो ।
यता, पहिलोपल्ट टि–२० विश्वकपको फाइनल खेलेको दक्षिण अफ्रिकाले भने जित नजिक पुगेर पनि उपविजेतामै सिमित बन्न पुग्यो ।
बारबाडोसस्थित केनसिङटोन ओभल रंगशालामा भएको फाइनल खेलमा १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै मात्र १६९ रन जोड्न सक्यो ।
दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेल्दा विकेटकिपर क्विन्टन डि ककले ३१ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरेर ३९ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, ट्रिस्टान स्टुब्सले २१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ रन जोडेर आउट हुँदा डेभिड मिलरले १७ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गरेर २१ रन जोडेर पेविलियन फर्किए ।
यता, कप्तान ऐडेन मार्कराम, ओपनर ब्याट्सम्यान रिजा हेन्डरिक्स र कागिसो राबाडा समान ४–४ र मार्को जनसेन २ रनमा पेविलियन फर्किदा केशब महाराज २ र एनरिच नोर्ट्जे १ रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
रोमाञ्चक खेलमा भारतलाई जिताउन हार्दिक पाण्डेयाले ३, जसप्रित बुमराह र अर्शदिप सिंहले २–२ र अक्षर पटेलले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १७६ रन जोड्यो ।
भारतका लागि भेट्रान खेलाडी विराट कोहोलीले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ७६ रनको अर्धशतकिय पारी खेल्दा अक्षर पटेलले ३१ बल खेल्नेक्रममा १ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, शिभम् दुबेले १६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर आउट हुँदा कप्तान रोहित शर्माले ९, सुर्यकुमार यादवले ३ र रविन्द्र जडेजाले २ रन जोडेर पेविलियन फर्किए ।
यता, हार्दिक पाण्डेया ५ रनमा अविजित रहँदा विकेटकिपर रिशभ पन्त शुन्य रनमा पेविलियन फर्किए ।
भारतले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
दक्षिण अफ्रिकाका लागि केशब महाराज र एनरिच नोर्ट्जेले समान २–२ विकेट लिँदा मार्को जनसन र कागिसो राबडाले १–१ विकेट लिए ।