भक्तपुर । बंगलादेशमा जारी २० वर्षमूनिको साफ यू–२० महिला च्याम्पियनसिपको खेलमा चिरपरिचित प्रतिद्वन्दी भारतलाई पुनरागमन जित हासिल गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा नेपालले भारतमाथि ३–१ को पुनरागमन जित निकालेको हो ।
नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिशा कार्कीले गोल गर्दा भारतका लागि अपूर्ण नार्जारीले एक गोल गरिन् ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल रंगशालामा खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दा नेपाल १–० ले पछि परेको थियो ।
तर, दोस्रो हाफमा नेपाल खेलमा फर्कियो । खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याईन् ।
रोमाञ्चक खेलमा ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दा नेपाल २–१ ले अघि बढ्यो ।
त्यसपछि खेलको ८९ औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाईन् ।
प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा भारतलाई पराजित गरेको नेपालको ३ खेलमा ६ अंक भएको छ । योसंगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
यता, नेपालसंग पराजित भारत ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
दक्षिण एसियाका ४ राष्ट्रको सहभागीता रहेको प्रतियोगितामा राउण्ड एन्ड रोबिनको आधारमा शीर्ष दुईमा रहने दुई टोली फाइनलमा पुग्ने नियम छ ।
सो अनुसार नेपाल कम्तीमा पनि शीर्ष दुईमा पर्ने निश्चित भएसंगै फाइनल प्रवेश गरेको छ । अब उपाधिका लागि नेपालले भारत अथवा आयोजक बंगशालदेशको सामना गर्ने भएको छ ।