भक्तपुर । भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बंगलादेश साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेतासमेत रहेको भारतलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलादेशलाई जिताउन बिएस नोभा, मोइन इस्लाम, सकिल टोफु र असरफ श्रबोनले पेनाल्टीमा गोल गरे ।
पराजित भारतका लागि भने प्रमभिर, जिउजिउमसर गोयारे र मनजोत सिंह धामीले पेनाल्टीमा गोल गरे ।
भारतका दुई खेलाडीको पेनाल्टी प्रहार भने बंगलादेशका गोलकिपर मोहम्मद आसिफले जोगाए ।
त्यसअघि निर्धारित समयको ३६ औं मिनेटमा असदुल मोल्लाको गोलमार्फत् बंगलादेशले १–० को अग्रता लियो ।
त्यसपछि दोस्रो हाफको ७५ औं मिनेटमा भारतका कप्तान रिकी मिटी हाओबमले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि खेलमा थप गोल ननिस्किेपछि खेल पेनाल्टी सुटआउटमा गयो ।
योसंगै उपाधिका लागि बंगलादेशले नेपालसंग प्रतिस्पर्धा गर्ने भएको छ ।