एजेन्सी । फ्रान्सेली महारथी क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले लिग वानमा तुलनात्मक रुपमा कमजोर टोली ब्रेस्टमाथि संघर्षपूर्ण जित निकालेको छ ।
सनिवार राति भएको खेलमा पिएसजीले ब्रृस्टमाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो ।
ब्रेस्टको घरेलु मैदान स्टद फ्रान्सिस ब्लेमा भएको खेलमा ३७ औं मिनेटमा कार्लोस सोलेरको गोलमार्फत पिएसजीले सुरुवाती अग्रता लिएको थियो ।
त्यसपछि ४३ औं मिनेटमा फ्यांक होनोर्टको गोलमार्फत घरेलु टोलीले खेल १–१ को बराबरीमा ल्याएका थिए ।
खेलमा लगातार दवाव सिर्जना गरेतापानि लिग लिडर पिएसजीले गोल गर्न निक्कै संघर्ष गर्नु परेको थियो ।
बराबरी उन्मुख खेलको अन्तिम समयतिर ९० औं मिनेटमा लियोनल मेसीको पासमा केलियन एम्बाप्पेले गोल गर्दा पिएसजीले २–१ ले जित निकालेको थियो ।
जितसंगै पिएसजीको फ्रान्सेली सर्वोच्च लिगमा २७ खेलमा ६६ अंक भएको छ । यो भनेको तालिकाको दोस्रो स्थानमा रहेको एक खेल कम खेलेको मर्सेलेको भन्दा ११ अंकले बढी हो ।
पराजित घरेलु टोलीको २७ खेलमा २३ अंक छ । ब्रेस्ट तालिकाको १५ औं स्थानमा रहेको छ ।
लिग वानअन्तर्गत गयराति नै भएको अन्य खेलमा अक्सेरे र रेनेसले गोलरहित बराबरी खेलेका छन् ।