एजेन्सी । जर्मन महारथी क्लब ब्रायन म्युनिखले डेली ब्लिन्डलाई क्लबमा भित्र्याएको छ ।
ब्रायनले डच अन्तराष्ट्रिय खेलाडीलाई फ्रि एजेन्टमा क्लबमा भित्र्याएको हो ।
जुलियन नागेल्मानको नेतृत्वमा रहेको म्युनिखले आयाक्सका पूर्व खेलाडी ब्लिन्डलाई ६ महिनाको लागि साइन गरेको खबर प्रकाशित भएको छ ।
सम्झौतामा आवश्यक परे अर्को एक वर्षका लागि क्लबले ब्लिन्डलाई नविकरण गर्न सक्ने उल्लेख गरिएको छ । ब्लिन्डले म्युनिखमा २३ नम्बरको जर्सी लगाउने छन् ।
जर्मन क्लबले ब्लिन्डलाई लुकास हर्नान्डेजको विकल्पमा साइन गरेको हो । हर्नान्डेज घाइते हुँदै पुरा सिजन गुमाउने निश्चित भएपश्चात म्युनिखले उनको विकल्प खोजी गरेको हो ।
ब्लिल्डले सेन्ट्रल डिफेन्सका अलावा लेफ्ट ब्याक र डिफेन्सिभ मिडफिल्डमा पनि खेल्न सक्छन् ।
ब्लिडलाई फिफा विश्वकपपछि डच क्लब आयाक्सले सम्झौता रद्द गर्दै छोडेको थियो ।
‘हामी ब्लिन्डलाई क्लबमा भित्र्याउन पाउँदा एकदमै खुसी छौं ।’ म्युनिखका स्र्पोटिङ डाइरेक्टरले भने, ‘ब्लिन्ड बहुमुखी प्रतिभा भएका खेलाडी हुन् । उनले उनले आवश्यकता अनुसारको भुमिका निभाउन सक्छन् । उनीसंग थुप्रै अन्तराष्ट्रिय खेलको अनुभव छ । साथसाथै उनले नेतृत्वदायी भुमिका पनि निर्वाह गर्न सक्छन् ।’
ब्लिन्ड आयाक्सको एकेडेमी उत्पादन हुन् । उनले सन् २००८ मा आयाक्सको सिनियर टोलीमा डेब्यु गरेका थिए । उक्त सिजन उनले ट्यालेन्ड अफ द फ्युचर अर्वाड जितेका थिए ।
उनले सन् २०१४ सम्म आयाक्सबाट खेलेका थिए । त्यसपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा गए । युनाइटेडमा चार सिजन बसेपछि पुनः उनी आयाक्स फर्केका थिए ।
‘ब्रायनको जर्सीमा खेल्न म आतुर छु ।’ ३२ वर्षिय खेलाडीले भनेका छन्, ‘सिजनको महत्वपूर्ण समयमा म्युनिख आइपुगेको छु, जहाँ मेरमे उद्देश्य क्लबलाई सम्भब भएका सबैखाले उपाधि जिताउने हुनेछ । ब्रायनजस्तो महान् क्लबका लागि उपाधि जित्न चाहन्छु ।’
ब्लिन्डले आयाक्सको लिग उपाधि ७ पटक जित्दा आयाक्सको प्रतिष्ठत केएनभिबी कप दुईपटक र जोहान क्रायुफ सिल्ड पनि दुई पटक जितेका छन् ।
यता, युनाइटेड बसाईमा प्रतिष्ठित एफए कप, इएफएफ कप र युरोपा लिग जितेका छन् ।