एजेन्सी । इंग्लिस प्रिमियर लिगमा ब्राइटनमाथि म्यानचेस्टर सिटीले फराकिलो जित हासिल गरेको छ ।
विहिवार राति भएको खेलमा ब्राइटनमाथि साविक विजेता समेत रहेको म्यानचेस्टर सिटीले ४–० को फराकिलो जित निकालेको हो ।
ब्राइटनको घरेलु मैदान अमेरिकन एक्सप्रेस स्टेडियममा भएको खेलमा भ्रमणकारी टोलीको फराकिलो जितमा फिल फोडेनले दुई गोल गर्दा केभिन डिब्रुएना र जुलियान अल्भारेजले एक–एक गोल गरे ।
खेल सुरु भएको १७ औं मिनेटमा केल वाल्करको पासमा डिब्रुएनाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि २६ औं मिनेटमा फोडेनले गोल गर्दा साविक विजेता टोली २–० ले अघि बढ्यो ।
त्यस्तै, ३४ औं मिनेटमा बनार्डो सिल्भाको असिस्टमा फोडेनले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा इंग्लिस महारथी टोली ३–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ६२ औं मिनेटमा वाल्करको पासमा अल्भारेजले गोल थप्दा सिटी ४–० ले विजयी भयो ।
सिटीको फराकिलो जितसंगै उपाधि होड थप रोमाञ्चक बनेको छ ।
सिटीले ३३ खेलबाट ७६ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यता, ३४ खेल नै खेलिसकेको लिभरपूलको ७४ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।
सिटीसंग पराजित ब्राइटनको भने ३३ खेलमा ४४ अंकसहित तालिकाको ११ औं स्थानमा रहेको छ ।