एजेन्सी । जर्मन महारथी ब्रायन म्युनिखले जर्मन बुडेसलिगामा भिएफएल बोचुममाथि सहज जित हात पारेको छ ।
सनिवार भएको खेलमा साविक विजेतासमेत रहेको ब्रायन म्युनिखले भिएफएल बोचुममाथि ३–० को जित हात पारेको हो ।
अलियान्ज एरिनामा भएको खेलमा घरेलु टोली म्युनिखका लागि थोमस मुलर, किंग्सले कोम्यान र सर्जेइ ग्नाब्रेले गोल गरेका हुन् ।
लिग लिडर म्युनिखका लागि खेलको ४१ औं मिनेटमा मुलरले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएको थियो ।
दोस्रो हाफको ६४ औं मिनेटमा कोम्यानले गोल गर्दा म्युनिख खेलमा २–० ले अघि बढ्यो । यता ७३ औं मिनेटमा ग्नाब्रेले गोल गर्दा म्युनिखले खेल सहज रुपमा ३–० ले जित्यो ।
जितसंगै घरेलु टोली म्युनिखको २० खेलमा ४३ अंक भएको छ । म्युनिख बुडेसलिगाको शीर्ष स्थानमा छ ।
यता, पराजित बोचुमको २० खेलमा १९ अंक छ । बोचुम लिग तालिकाको १५ औं स्थानमा छ ।
सनिवार नै भएको अन्य खेलमा बायर लेभरकुसेनले होफिङघमलाई ३–१ ले पराजित गर्दा बुरुसिया डर्टमण्डले वेरदेर ब्रेमेनमाथि २–० को जित हात पार्यो ।
यता, एससी फ्रेइबर्गले भिएफबी स्टुटगार्डमाथि २–१ को जित निकाल्दा मैन्ज ०५ ले अग्सबर्गमाथि ३–१ को जित हात पार्यो । साल्के ०४ र भिएफएल उल्भ्सवर्गले गोलरहित बराबरी खेले ।