एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपिएल) मा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेङ्लोरमाथि शानदार जित हात पारेको छ ।
मंगलवार राति भएको खेलमा २०० रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले १६.४ ओभरमा ४ विकेट गुमाउँदै २०० रन बनाएर ६ विकेटको जित हात पार्यो ।
जितसंगै मुम्बईले ११ खेलमा १२ अंक जोड्दै आईपिएलको तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । पराजित बेङ्गलोरको समान खेलमा १० अंक छ । बेङ्गलोर तालिकाको सातौं स्थानमा छ ।
मुम्बईस्थित वानखदे रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि सुर्यकुमार यादवले विष्पोठक ब्याटिङ गर्दै ३५ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ८३ रन जोडेर खेललाई एकपक्षिय बनाए ।
नेहाल वाधेराले ३४ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५२ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, इसान किशनले २१ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गर्दै ४२ रन जोडेर पेविलियन फर्किदा कप्तान रोहित शर्माले ७ रन बनाएर आउट भए ।
क्यामरन ग्रिनले अविजित रहँदै २ रन बनाउँदा टिम डेभिड भने शुन्य रनमा पेविलियन फर्किए । मुम्बईका लागि अतिरिक्त रुपमा १४ रन जोड्यो ।
बेङ्गलोरका लागि विजय कुमार भिषेकले ३ ओभर बलिङ गर्दै ३७ रन दिएर २ विकेट लिँदा वानिन्दु हसरङ्गाले ४ ओभरमा ५३ रन खर्चिएर २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा आएको बेङ्गलोरले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १९९ रन बनायो ।
बेङ्गलोरका लागि कप्तान फाफ दु प्लेसिसले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६५ रनको अर्धशतकिय पारी खेल्दा ग्लिन म्याक्सवेलले ३३ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गर्दै ६८ रनको अर्धशतकिय इनिङ्स खेले ।
त्यस्तै, विकेटकिपर दिनेश कार्तिकले १८ बलको सामना गर्दा ४ चौका र १ छक्का प्रहार गर्दै ३० रन बनाएर पेविलियन फर्किदा इम्प्याक्ट प्लेयरका रुपमा मैदान प्रवेश गरेका केदार जादबले १० बलमा १ चौका मद्दतमा अविजित १२ तथा वानिन्दु हरसङ्गाले ८ बलमा २ चौका प्रहार गर्दै अविजित १२ रन जोडे ।
अनुज रावत ६, विराट कोहोली १ तथा महिपाल लामरोर १ रनमा पेविलियन फर्किए । बेङ्गलोरले अतिरिक्त रुपमा ४ रन जोड्यो ।
मुम्बईका लागि जसन बेर्हेन्द्रोफले ४ ओभर बलिङ गर्दै ३६ रन दिएर सर्वाधिक ३ विकेट लिए ।
त्यस्तै, क्यामरन ग्रिनले २ ओभर बलिङ गर्दै १ विकेट हात पार्दा कुमार कार्तिक्यले ४ ओभरमा ३५ रन खर्चिएर १ विकेट लिए ।
त्यस्तै, क्रिस जोर्डनले ४ ओभर बलिङ गर्दै ४८ रन खर्चिएर १ विकेट लिए ।
प्रतियोगिताअन्तर्गत बुधवार चेनेई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।