
एजेन्सी । बायर लेभरकुसेन जर्मन बुडेसलिगामा होलस्टेन केइलसंग बराबरीमा रोकिएको छ ।
सनिवार राति भएको खेलमा साविक विजेता बायर लेभरकुसेन तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी होलस्टेन केइलसंग २–२ को बराबरीमा रोकिएको हो ।
बाय एरिना रंगशालामा भएको खेलमा घरेलु टोली लेभरकुसेनले दुई गोलको सहज अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन पर्यो ।
खेल सुरु भएको चौथौं मिनेटमा एक्सेक्वियल पालासियोसको पासमा भिक्टर बोनिफेसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।
त्यस्तै, आठौं मिनेटमा पालासियोसकै असिस्टमा जोनास होफम्यानले गोल गर्दै लेभरकुसेनलाई २–० ले अघि बढाए ।
तर, पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा लेविस होल्टबेको पासमा म्याक्स गेस्चविलले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
यता, दोस्रो हाफको ६९ औं मिनेटमा होलस्टेनका लागि फेइटे अर्पले गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
बराबरीसंगै लेभरकुसेनले ६ खेलबाट ११ अंक जोडेर लिग तालिकाको पाँचौं स्थानमा झरेको छ ।
यता, होलस्टेनले भने ६ खेलबाट २ अंक जोडेर तालिकाको १७ औं स्थानमा उक्लिएको छ ।