एजेन्सी जर्मन घरेलु फुटबलको शीर्ष लिगको बुडेसलिगाको नयाँ सिजन सुरु भएको छ ।
शुक्रवार भएको सिजनको पहिलो खेलमा साविक विजेता बायर लेभरकुसेनले बोरुसिया मोनचेनग्लाडबाचमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकाल्यो ।
मोनचेनग्लाडबाचको घरेलु मैदान बोरुसिया पार्क रंगशालामा भएको खेलमा लेभरकुसेनलाई जिताउन फ्लोरियान विर्ट्जले दुई गोल गर्दा ग्रान्ट शाकाले एक गोल गरे ।
पराजित घरेलु टोलीका लागि भने निको इलभेडी र टिम क्लेनडाइन्टले समान एक–एक गोल गरे ।
खेल सुरु भएको १२ औं मिनेटमा शाकाले गोल गर्दै साविक विजेता टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ३८ औं मिनेटमा विर्ट्जले गोल थप लेभरकुसेन २–० ले अघि बढ्यो ।
यता, ४४ औं मिनेटमा क्लेनडाइन्टले गरेको गोल भिएआरले मान्यता नदिँदा घरेलु टोली खेलमा फर्किन सकेन ।
तर, दोस्रो हाफको ५९ औं मिनेटमा इलभेडीले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
त्यसपछि ८५ औं मिनेटमा क्लेनडाइन्टले मोनचेनग्लाडका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
यता, बराबरी उन्मुख खेलको इन्जुरी समयको ११ औं मिनेटमा विर्ट्जले गोल थप्दै लेभरकुसेनलाई सनसनी ३–२ को जित दिलाए ।
महत्वपूर्ण जितसंगै जर्मन लिगमा साविक विजेता टोलीले तीन अंक जोडेको छ ।