
एजेन्सी । जर्मन महारथी बायर्न म्युनिखले बुडेसलिगाअन्तर्गत खेलमा एफसी युनियन बर्लिनमाथि फराकिलो जित निकालेको छ ।
सनिवार राति भएको खेलमा बायर्न म्युनिखले एफसी युनियन बर्लिनमाथि ५–१ को फराकिलो जित निकालेको हो ।
बर्लिनको घरेलु मैदान एन देर अल्टेन फोरस्टेरेइ रंगशालामा भएको खेलमा म्युनिखको जितमा थोमस मुलरले दुई गोल गर्दा ह्यारी केन, लियोन गोरेट्ज्का, म्याथिस टेलले समान एक–एक गोल गरे ।
घरेलु टोलीका लागि योर्बे भेरटिस्सेनले सान्तोना गोल फर्काए ।
पहिलो हाफको २९ औं मिनेटमा म्थाथिस टेलको पासमा गोरेट्ज्काले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा केनले गोल थप्दै म्युनिखलाई २–० ले अघि बढाए ।
दोस्रो हाफको ५३ औं मिनेटमा इरिक म्याक्सिम चोपो मोटिङको पासमा मुलरले गोल थप्दा म्युनिख ३–० को आरामदायी अग्रतासहित अघि बढ्यो ।
६१ औं मिनेटमा केनको पासमा टेलले गोल थप्दा म्युनिख ४–० को फराकिलो अग्रतासहित अघि बढ्यो ।
त्यसको पाँच मिनेटपछि नै गोरेट्ज्काको पासमा मुलरले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा म्युनिख ५–० ले अघि बढ्यो ।
यता, खेलको अन्त्यतिर ९० औं मिनेटमा योर्बेले बर्लिनका लागि सान्तोना गोल फर्काउँदा खेल ५–१ ले सकियो ।
फराकिलो जितसंगै म्युनिखले ३० खेलबाट ६६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।
पराजित बर्लिनको समान ३० खेलबाट २९ अंकसहित तालिकाको १४ औं स्थानमा रहेको छ ।