एजेन्सी । बायर लेभरकुसेनले जर्मन बुडेसलिगामा बुरुसिया डर्टमण्डमाथि जित निकालेको छ ।
शुक्रवार राति भएको खेलमा साविक विजेता बायर लेभरकुसेनले बुरुसिया डर्टमण्डमाथि ३–२ को जित निकालेको हो ।
डर्टमण्डको घरेलु मैदान सिग्नल इडुना पार्क रंगशालामा भएको खेलमा भ्रमणकारी टोली लेभरकुसेनलाई जिताउन प्याट्रिक सेकले दुई गोल गर्दा नाथान टेल्लाले एक गोल गरे ।
पराजित घरेलु टोलीका लागि जेमी गिट्टन्स र सेरहौ गुइरास्सेले एक–एक गोल फर्काए ।
खेल सुरु भएको पहिलो मिनेटमै रोर्बट एन्डरिचको पासमा टेल्लाले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि आठौं मिनेटमा पिरो हिनकोइको पासमा सेकले गोल गर्दा साविक विजेता टोली २–० ले अघि बढ्यो ।
त्यसको चार मिनेटपछि नै गिट्टन्सले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो ।
यता, १९ औं मिनेटमा जेरेमी फ्रिमपोङको पासमा सेकले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा लेभरकुसेन ३–१ ले अघि बढ्यो ।
दोस्रो हाफको ७९ औं मिनेटमा गुइरास्सेले पेनाल्टीमा गोल फर्काए पनि डर्टमण्डको हार भने टरेन ।
जितसंगै लेभरकुसेनले १६ खेलबाट ३५ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।
पराजित डर्टमण्डको भने समान १६ खेलमा २५ अंक सहित तालिकाको छैटौं स्थानमा रहेको छ ।