
एजेन्सी । जर्मन बुडेसलिगामा बुरुसिया डर्टमण्डले सेन्ट पाउलीमाथि जित हासिल गरेको छ ।
शुक्रवार राति भएको खेलमा बुरुसिया डर्टमण्डले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी सेन्ट पाउलीमाथि २–१ को जित हासिल गरेको हो ।
डर्टमण्डको घरेलु मैदान इग्नल इडुना पार्क रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन रामी बेनसेबाइनी र सेरहौ ग्वीरास्सेले एक–एक गोल गरे ।
पराजित भ्रमणकारी टोलीका लागि भने इरिक स्मिथले एक गोल फर्काए ।
पहिलो हाफको अन्त्यतिर बेनसेबाइनीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ७८ औं मिनेटमा स्मिथले पाउलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, ८३ औं मिनेटमा जेमी गिटन्सको पासमा ग्वीरास्सेले गोल थप्दा खेल डर्टमण्डले २–१ ले जित्यो ।
जितसंगै डर्टमण्डले ७ खेलबाट १३ अंक जोड्दै लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।
पराजित सेन्ट पाउलीले भने समान ७ खेलबाट ४ अंक जोडेर तालिकाको १६ औं स्थानमा झरेको छ ।