
एजेन्सी । जर्मन बुडेसलिगामा बुरुसिया डर्टमण्डले हैडेनहैममाथि जित निकालेको छ ।
शुक्रवार राति भएको खेलमा बुरुसिया डर्टमण्डले हैडेनहैममाथि ४–२ को जित निकालेको हो ।
डर्टमण्डको घरेलु मैदान सिग्नल इडुना पार्क रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन करिम अडेयमीले दुई गोल गर्दा डनयल मलेन र इम्रे क्यानले समान एक–एक गोल गरे ।
पराजित टोलीका लागि भने मार्भिन पिइरिङगर र म्याक्सिमिलियन ब्रेउइङले गोल फर्काए ।
खेल सुरु भएको ११ औं मिनेटमा अडेयमीको पासमा मलेनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यस्तै, १७ औं मिनेटमा जुलियान ब्रान्ट्डको असिस्टमा अडेयमीले गोल गर्दा डर्टमण्ड २–० ले अघि बढ्यो ।
तर, ३९ औं मिनेटमा ओमार ट्राओरेको पासमा पिइरिङगरले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
त्यसको दुई मिनेटपछि नै जुलियान रेर्सनको पासमा अडेयमीले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा घरेलु टोली ३–१ ले अघि बढ्यो ।
त्यस्तैगरी, दोस्रो हाफको ७४ औं मिनेटमा ब्रेउइङले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल ३–२ को अवस्थानमा आयो ।
यता, खेलको इन्जुरी समयको दोस्रो मिनेटमा क्यानले पेनाल्टीमा गोल थप्दा घरेलु टोली ४–२ ले विजयी भयो ।
जितसंगै डर्टमण्डले लिगमा तीन खेलबाट सात अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
पराजित हैडेनहैमको भने समान तीन खेलमा ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।