
एजेन्सी । उपाधि दावेदार मानिएको फ्रान्स युरो कपअन्तर्गत खेलमा पोल्याण्डसंग बराबरीमा रोकिएको छ ।
मंगलवार राति भएको खेलमा बलियो फ्रान्स पोल्याण्डसंग १–१ गोलको बराबरीमा रोकिएको हो ।
जर्मनीको डर्टमण्डस्थित बिभिबि स्टाडियन रंगशालामा भएको खेलमा फ्रान्सका लागि केलियन एम्बाप्पे र पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्कीले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको ५६ औं मिनेटमा एम्बप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई १–० ले अघि बढाए ।
त्यसपछि ७९ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल फर्काउँदा खेल १–१ को बराबरीमा सकियो ।
बराबरीसंगै फ्रान्सले समूह ‘डी’ मा ३ खेलबाट १ मा जित र २ मा बराबरीसहित ५ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो ।
यता, यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको पोल्याण्डले ३ खेलबाट २ मा हार र १ मा बराबरीको नतिजासहित १ अंक जोडेर तालिकाको चौथौं स्थानमा रह्यो ।
तुलनात्मक रुपमा बलियो टोली नेडरल्याण्ड्स अष्ट्रियासंग ३–२ ले पराजित भएको छ ।
पराजयसंगै नेडरलयाण्ड्सले ३ खेलबाट १ मा जित १ मा बराबरी र १ मा हारको नतिजाका साथ ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
डच टोलीमाथि सनसनी जित निकालेको अष्ट्रियाले भने २ मा जित र १ मा हारको नतिजासति ६ अंक जोडेर समूह विजेता बनेको छ ।
यो समूहबाट अष्ट्रिया विजेता, फ्रान्स उपविजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्दा नेडरलयाण्ड्स बेस्ट अफ थ्रीमा पर्दै अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कायमै छ ।