एजेन्सी । उपाधि होडमा रहेको लिभरपूलले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा बर्नलीमाथि सहज जित निकालेको छ ।

सनिवार राति भएको खेलमा बलियो लिभरपूलले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी बर्नलीमाथि ३–१ को सहज जित निकाल्यो ।

लिभरपूलको घरेलु मैदान एन्डफिल्ड रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि डिएगो जोटा, लुइस डाइज र डार्विन नुनेजले गोल गर्दा भ्रमणकारी टोलीका लागि डारा ओशेआले एक गोल फर्काए ।

पहिलो हाफको ३१ औं मिनेटमा ट्रेन्ट अलेक्जान्डर आर्नोल्डको असिस्टमा जोटाले गोल गर्दै लिभरपूललाई सुरुवाती अग्रता दिलाए ।

तर, पहिलो हाफको अन्त्यतिर ४५ औं मिनेटमा जोश ब्राउनहिलको असिस्टमा डाराले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि दोस्रो हाफको ५२ औं मिनेटमा डाइजले मर्सिसाइड क्लबका लागि गोल थप्दा खेल २–१ को अवस्थामा अघि बढ्यो ।

यता, ७९ औं मिनेटमा हार्भे इलियोटको असिस्टमा नुनेजले गोल थप्दा रेड्सका रुपमा समेत चिनिने लिभरपूल ३–१ ले विजयी भयो ।

महत्वपूर्ण जितसंगै लिभरपूलले २४ खेलमा ५४ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।

लिभरपूलको तुलनामा एक खेल कम खेलेको साविक विजेता म्यानचेस्टर सिटीको ५२ अंक रहेको छ ।

यता, पराजित बर्नलीको भने २४ खेलमा १३ अंकमात्र रहेको छ । बर्नली तालिकाको १९ औं स्थानमा रहेको छ ।

गयराति नै भएको प्रिमियर लिगअन्तर्गत अन्य खेलहरुमा न्युक्यासल युनाइटेडले नटिङघम फोरेस्टमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकाल्दा उल्भ्स भने ब्रेन्टफोर्डसंग २–० ले स्तब्ध भएको छ ।

त्यस्तै, टोटनहम हटस्परले ब्राइटनलाई २–१ ले हराउँदा सेफिल्ड युनाइटेडले लुटन टाउनमाथि ३–१ को जित निकाल्न सफल रह्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.