एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल बर्नमाउथसंग पराजित भएको छ ।
सनिवार भएको खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको टोली बर्नमाउथसंग लिभरपुल १–० ले पराजित भएको हो ।
भिटालिटी रंगशालामा भएको खेलमा घरेलु टोली बर्नमाउथको लागि फिलिप बिलिङले खेलको २८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । बिलिङले दाङ्गो ओउत्राको पासमा गोल गरेका थिए ।
पहिलो हाफ १–० ले पछि रहेको मर्सिसाइड क्लबले खेलमा निरन्तर दवाव सिर्जना गरेतापनि गोल भने गर्न सकेन।
६९ औं मिनेटमा भ्रमणकारी टोली लिभरपुलले बराबरी गर्ने सुनौलो मौका पाएको थियो ।
जोटाको सट छेक्ने क्रममा बर्नमाउथका स्मिथको हातमा बल लागेपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो । जसमा मोहम्मद सल्लाह चुक्दा लिभरपुल खेलमा फर्किन सकेन ।
महत्वपुर्ण जितसंगै बर्नमाउथले २६ खेलमा २४ अंक जोड्दै लिग तालिकाको १६ औं स्थानमा उक्लेको छ ।
पराजित लिभरपुलको समान खेलमा ४२ अंक छ । लिभरपुल तालिकाको पाँचौ स्थानमा छ ।