एजेन्सी । लिभरपुलले प्रिमियर लिगमा एएफसी बर्नमाउथमाथि सहज जित निकालेको छ ।
सनिवार राति भएको खेलमा लिभरपूलले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी एएफसी बर्नमाउथमाथि ३–० को जित निकालेको हो ।
लिभरपूलको घरेलु मैदान एन्डफिल्ड रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन लुइस डाइजले दुई गोल गर्दा डार्विन नुनेजले एक गोल थपे ।
खेलमा सबै गोल पहिलो हाफमा निस्कियो ।
पहिलो हाफको २६ औं मिनेटमा इब्राहिमा कोनाटेको पासमा डाइजले गोल गर्दा लिभरपूलले सुरुवाती अग्रता लियो ।
त्यसको दुई मिनेटपछि नै ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासमा डाइजले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा मर्सिसाइड क्लब २–० ले अघि बढ्यो ।
यता, ३७ औं मिनेटमा मोहम्मद सल्लाहको पासमा नुनेजले गोल थप्दा लिभरपूल ३–० ले विजयी भयो ।
सहज जितसंगै लिभरपूलले पाँच खेलबाट १२ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
यता, एक खेल कम खेलेको साविक विजेता म्यानचेस्टर सिटीको पनि १२ नै अंक भएतापनि गोलअन्तरले लिभरपूल शीर्ष स्थानमा उक्लिएको हो ।
पराजित बर्नमाउथको पाँच खेलबाट पाँच अंकसहित लिग तालिकाको १३ औं स्थानमा झरेको छ ।