
एजेन्सी । लिभरपूलले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा एएफसी बर्नमाउथमाथि फराकिलो जित निकालेको छ ।
आईतवार राति भएको खेलमा बलियो लिभरपूलले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी एएफसी बर्नमाउथमाथि ४–० को फराकिलो जित निकालेको हो ।
बर्नमाउथको घरेलु मैदान भिटालिटी स्टेडियममा भएको खेलमा रेड्सका रुपमा समेत चिनिने लिभरपूलको जितमा डार्विन नुनेज र डिएगो जोटाले समान दुई–दुई गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ४९ औं मिनेटमा जोटाको पासमा नुनेजले गनेल गर्दै लिभरपूललाई सुरुपाती अग्रता दिलाए ।
त्यसपछि ७० औं मिनेटमा कोडी गाक्पोको पासमा जोटाले गोल थप्दा लिभरपूल २–० ले अघि बढ्यो ।
त्यस्तै, ७९ औं मिनेटमा कोनोर ब्राड्लीको पासमा जोटाले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा मर्सिसाइड क्लब ३–० ले अघि बढ्यो ।
यता, खेलको अन्त्यतिर इन्जुरी समयको तेस्रो मिनेटमा जोय गोमेजको असिस्टमा नुनेजले गोल थप्दा लिभरपूल ४–० ले विजयी भयो ।
महत्वपूर्ण जितसंगै लिग लिडर लिभरपूलले २१ खेलमा ४८ अंक जेडेको छ ।
पराजित बर्नमाउथको भने २० खेलमा २५ अंकसहित तालिकाको १२ औं स्थानमा रहेको छ ।
प्रिमियर लिगअन्तर्गत गयराति नै भएको अर्को खेलमा सेफिल्ड युनाइटेड र वेस्टह्याम युनाइटेडले २–२ को बराबरी खेलेका छन् ।