एजेन्सी । बंगलादेशविरुद्वको एकदिवसिय अन्तर्राष्ट्रिय श्रीङ्खला (ओडिआई सिरिज) अफगानिस्तानले जितेको छ ।
सोमवार भएको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै अफगानिस्तानले सिरिज २–१ ले जितेको हो ।
त्यसअघि सिरिजअन्तर्गत पहिलो खेल अफगानिस्तानले ९२ रनले जित्दा दोस्रो खेल भने बंगलादेशले ६८ रनले जितेको थियो ।
युएईको सारजाहस्थित सारजाह क्रिकेट रंगशालामा भएको खेलमा २४५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै २४६ रन जोड्यो ।
अफगानिस्तानलाई जिताउन ओपनर ब्याट्सम्यान तथा विकेटकिपर रहमानुल्लाह गुरबाजले १२० बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै १०१ रनको शतकिय पारी खेल्दा अज्मतुल्लाह ओमारजायीले ७७ बल खेल्नेक्रममा ३ चौका र ४ छक्का प्रहार गर्दै ७० रनको अर्धशतकिय पारी खेलदै अविजित रहे ।
त्यस्तै, मोहम्मद नाबीले २७ बलमा ५ चौका प्रहार गर्दै ३४ रन जोडेर अविजित रहँदा अर्का ओपनर सेदिकुल्लाह अटलले १८ बल खेल्नेक्रममा १४ रन जोडेर पेविलियन फर्किए ।
यता, रहमत शाह ८, कप्तान हस्मतुल्लाह शाहिदी ६ र गुलबदिन नाइब १ रनमा पेविलियन फर्किए ।
अफगानिस्तानले अतिरिक्त रुपमा १२ रन जोड्यो ।
बंगलादेशका लागि नाहिद राणा र मुस्ताफिजुर रहमानले समान २–२ विकेट लिँदा कप्तान मेहिदी हसन मिराजले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २४४ रन जोड्यो ।
बंगलादेशका लागि महमुदुल्लाहले ९८ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ९८ रनको शतक नजिक पारी खेल्दा मेहेदी हसन मिराजले ११९ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै ६६ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, ओपनर ब्याट्सम्यान सौम्य सरकारले २३ बलमा ३ चौका प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा अर्का ओपनर तान्जिन हसनले २९ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किए ।
यता, शोरिफुल इस्लाम २ रनमा अविजित रहँदा तौहिद हृदय ७, नासुम अहमेद ५, जाकिर हसन ४ र विकेटकिपर जाकेर अली १ रनमा पेविलियन फर्किए ।
बंगलादेशले अतिरिक्त रुपमा १८ रन जोड्यो ।
अफगानिस्तानका लागि अज्मतुल्लाह ओमारजायीले सर्वाधिक ४ विकेट लिँदा मोहम्मद नाबी र राशिद खानले १–१ विकेट लिए ।