एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टि–२० विश्वकपमा बंगलादेशमाथि १० विकेटको जित हात पार्दै दक्षिण अफ्रिका सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलवार राति भएको खेलमा बंगलादेशले दिएको ११४ रनको विजयी लक्ष्य आयोजक दक्षिण अफ्रिकाले १७.५ ओभरमा विना कुनै विकेट गुमाउँदै ११७ रन जोड्दै पूरा गर्यो ।

न्युल्याण्ड्स क्रिकेट ग्राउण्डमा भएको खेलमा घरेलु टोलीका लागि लौरा उलर्भातले ५६ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ६६ रन जोड्दै अविजित रहिन् ।

त्यस्तै, ताजमिन ब्रिट्सले ५१ बल खेल्दै ४ चौका मद्दतमा ५० रनको अर्धशतकिय रन जोड्दै अविजित हरिन् ।

लौरा र ताजमिनले ११६ रनको साझेदारी गरिन् । जारी विश्वकपमा यी दुई खेलाडीको साझेदारी अहिलेसम्मका लागि ठूलो साझेदारी समेत हो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।

बंगलादेशका लागि कप्तान निगार सुल्तानाले ३४ बल खेल्दै २ चौका मद्दतमा ३० रन जोडेकी थिईन् । त्यस्तै, सोभाना मोस्तारी ३० बल खेल्दै २ चौका प्रहार गर्दै २७ रन जोड्दा विकेटकिपर शमिमा सुल्तानाले १६ बलको सामना गर्दै १ चौका मद्दतमा ११ रन बनाउँदै पेविलियन फर्किइन् ।

शोर्ना अक्टेरले पनि ११ बलमा १ चौका प्रहार गर्दै ११ रन जोड्दै आउट हुँदा फरगाना होक्यु ७ रनमा आउट भईन् । मुर्शिदा खातुन भने विना कुनै रन शुन्यमा पेविलियन फर्किइन् ।

निहिदा अक्टेर १५ तथा लता मोन्दल ५ रनमा अविजित रहिन् । बंगलादेशले ७ रन अतिरिक्त रुपमा पाएको थियो ।

घरेलु टोली साउथ अफ्रिकाका लागि मारिजन काप र आयाबोङगा खाकाले समान २–२ विकेट लिँदा नोनकुलुलेको माल्बा र शबनम इस्माइलले १–१ विकेट लिईन् ।

जितसंगै आयोजक अफ्रिकाले समूह ‘ए’ मा ४ खेलमा २ खेलमा जित र २ खेलमा हार बेहोर्दै ४ अंक जोडेको छ ।

न्युजिल्याण्ड र श्रीलंकाको पनि समान अंक रहेतापनि रन नेटका आधारमा दोस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्तिम ४ सुरक्षित गरेको छ ।

सेमिफाइनलमा अफ्रिकाले इंग्ल्याण्डको सामना गर्ने भएको छ । पराजित बंगलादेशले भने समूहको ४ वटै खेलमा हार बेर्होदै प्रतियागिता अन्त्य गरेको छ ।

मंगलवार राति नै भएको पहिलो खेलमा इंग्ल्याण्डले पाकिस्तानमाथि ११४ रनको जित हात पारेको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.