एजेन्सी । उपाधि होडमा रहेको आर्सनलले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा नटिङघम फोरेस्टमाथि जित निकालेको छ ।

मंगलवार राति भएको खेलमा बलियो आर्सनलले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी नटिङघम फोरेस्टमाथि २–१ को जित निकालेको हो ।

फोरेस्टको घरेलु मैदान द सिटी ग्राउण्ड रंगशालामा भएको खेलमा गर्नसका रुपमा समेत चिनिने आर्सनलको जितमा ग्राबियल जेसस र बुकायो साकाले गोल गरे ।

घरेलु टोलीका लागि भने टैव एओनीयीले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६५ औं मिनेटमा ओलेक्जान्डर जिन्जेन्कोको पासमा जेससले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि ७२ औं मिनेटमा जेससकै पासमा साकाले गोल थप्दै आर्सनललाई २–० ले अघि बढाए ।

यता, खेलको अन्त्यतिर ८९ औं मिनेटमा फोरेस्टका लागि गोन्जालो मोन्टियलको असिस्टमा एओनीयीले गोल फर्काउँदा खेल २–१ ले सकियो ।

जितसंगै आर्सनलले २२ प्रिमियर लिग खेलमा ४६ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

पराजित फोरेस्टको भने समान २२ खेलमा २० अंकसहित तालिकाको १६ औं स्थानमा रहेको छ ।

प्रिमियर लिगअन्तर्गत नै गयराति भएको अन्य खेलहरुमा न्युक्यासल युनाइटेडले एस्टन भिल्लामाथि ३–१ को सहज जित दर्ता गर्दा क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेडमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकाल्यो ।

त्यस्तै, लुटन टाउनले सनसनी रुपमा ब्राइटनलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दा फुलहम र एभर्टनले भने गोलरहित बराबरी खेलेका छन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.