एजेन्सी । इंग्लिस फुटबलको सन् २०२३–२४ सिजनको द प्रोफेस्नल फुटबलर्स एसोसियसन (पिएफए) प्लेयर्स अफ द इयरको उपाधि फिल फोडेनले जितेका छन् ।
फोडेनले आफ्नै सिटी सहकर्मी इर्लिङ हालान्ड र रोड्रीसंगै आर्सनलका मार्टिन ओडिगार्ड, चेल्सीका कोल पाल्मर, एस्टन भिल्लाका ओले वाट्किन्सलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
यसअघि दुईपल्ट योङ प्लेयर अफ द इयरको अवार्ड जितिसकेका २४ वर्षिय इंग्लिस खेलाडीले सन् २०२३–२४ को सिजनको प्रिमियर लिगमा १९ गोल गर्नुका साथै ८ असिस्टसमेत प्रदान गरेका थिए ।
त्यस्तै, युईएफए च्याम्पियन्स लिगमा ८ खेल खेल्दा ५ गोल गर्नुका साथै ३ असिस्ट समेत प्रदान गरे ।
त्यस्तै, चेल्सीका युवा मिडफिल्डर कोल पाल्मर भने योङ प्लेयर अफ द इयर घोषित भए ।
२२ वर्षिय इंग्लिस मिडफिल्डरले गएको सिजन चेल्सीका लागि प्रिमियर लिगमा २२ गोल गर्नुका साथै ११ असिस्ट समेत प्रदान गरका थिए ।
त्यस्तै, द पिएफए प्रिमियर लिग टिम अफ द इयरमा आर्सनलबाट सर्वाधिक पाँच खेलाडी पर्दा सिटीबाट चार, लिभरपुल र एस्टन भिल्लाबाट समान एक–एक खेलाडी समेतिए ।
प्रिमियर लिग विजेता सिटीका फोडेनसंगै हालान्ड, रोड्री र केल वाल्कर समेतिदा आर्सनलबाट गोलकिपर डेभिड राया, मार्टिन ओडिगार्ड, डिक्लेन राइस, विलियम सालिबा र ग्रावियल महालहान्स समावेश भए ।
त्यस्तै, लिभरपूलबाट भर्जिल भान डाइक र एस्टन भिल्लाबाट ओले वाट्किन्स पनि टोलीमा समावेश भए ।
मंगलवार राति म्यानचेस्टर ओपेरा हाउसमा भएको अवार्ड समारोहमा विजेता खेलाडीले अवार्ड ग्रहण गरे ।
एसोसियसन फुटबलले इंग्लिस घरेलु फुटबलको मुल्यांकन गर्दै सन् १९७३–७४ देखि प्रत्येक वर्ष अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ ।
योपल्टको प्रतिष्ठित अवार्ड ५१ औं संस्करणको हो ।