
एजेन्सी । फिल फोडेनको ह्याट्रिक मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा ब्रेन्टफोर्डमाथि पुनरागमन जित निकालेको छ ।
सोमवार राति भएको खेलमा फोडनको ह्याट्रिकमा साविक विजेता म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि ३–१ को पुनरागमन जित निकालेको हो ।
ब्रेन्टफोर्डको घरेलु मैदान जिटेक कम्युनिटी स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले लियो ।
खेलको २१ औं मिनेटमा मार्क फ्लेक्केनको पासमा नेल माउपेले गोल गर्दै ब्रेन्टफोर्डले सुरुवाती अग्रता लियो ।
तर, पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा फोडेनले सिटीका लागि बराबरी गोल फर्काउँदा खेल १–१ को अवस्थामा आयो ।
त्यसपछि दोस्रो हाफको ५३ औं मिनेटमा केभिन डिब्रुएनाको पासमा फोडेनले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा सिटी २–१ ले अघि बढ्यो ।
यता, ७० औं मिनेटमा इर्लिङ हालान्डको असिस्टमा फोडेनले ह्याट्रिक पूरा गर्दा सिटी ३–१ ले विजयी भयो ।
सहज पुनरागमन जितसंगै सिटीले २२ खेलबाट ४९ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पराजित घरेलु टोलीको समान २२ खेलमा २२ नै अंक रहेको छ ।
ब्रेन्टफोर्ड तालिकाको १५ औं स्थानमा रहेको छ ।