
एजेन्सी । इंग्लिस महारथी म्यानचेस्टर सिटीले प्रिमियर लिगमा फुलहममाथि जित निकालेको छ ।
सनिवार राति भएको खेलमा साविक विजेता समेत रहेको म्यानचेस्टर सिटीले फुलहममाथि ३–२ को जित निकालेको हो ।
सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन माटेओ कोभाकिकले दुई गोल गर्दा जेरेमी डोकुले एक गोल थपे ।
भ्रमणकारी टोली फुलहमका लागि भने एन्ड्रेस परेरा र रोड्रिगो मुनिजले गोल गरे ।
पहिलो हाफको २६ औं मिनेटमा राउल जेमिनिजको पासमा परेराले गोल गर्दै भ्रमणकारी टोलीलाई १–० ले अघि बढाए ।
तर, ३२ औं मिनेटमा कोभाकिकको गोलमार्फत् घरेलु टोली खेलमा फर्कियो ।
यता, दोस्रो हाफको ४७ औं मिनेटमा बेनार्डो सिल्भाको पासमा कोभाकिकले गोल थप्दै सिटीलाई खेलमा २–१ ले अघि बढायो ।
त्यस्तै, ८२ औं मिनेटमा रिको लेविसको पासमा डोकुले गोल थप्दा सिटी ३–१ ले अघि बढ्यो ।
खेलको अन्त्यतिर ८८ औं मिनेटमा रेइस नेल्सनको पासमा मुनिजले फुलहमका लागि गोल फर्काउँदा खेल ३–२ ले सकियो ।
महत्वपूर्ण जितसंगै सिटीले ७ खेलबाट १७ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।
पराजित फुलहमको भने समान ७ खेलमा ११ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ ।