
एजेन्सी । न्युक्यासल युनाइटेडले इंग्लिस फुटबलको प्रतिष्ठित प्रतियोगिता एफए कपअन्तर्गत चौथौं चरणको खेलमा फुलहममाथि सहज जित निकालेको छ ।
सनिवार राति भएको खेलमा न्युक्यासल युनाइटेडले प्रिमियर लिग प्रतिद्वन्दी फुलहममाथि २–० को सहज जित निकालेको हो ।
फुलहमको घरेलु मैदान कार्भेन कटेज रंगशालामा भएको खेलमा न्युक्यासलका लागि सिन लङ्गस्टाफ र ड्यानियल बर्नले गोल गरे ।
खेलको ३९ औं मिनेटमा ब्रुनो गुइमारिसको पासमा लङ्गस्टाफले गोल गर्दै न्युक्यासललाई १–० ले अघि बढाए ।
त्यसपछि दोस्रो हाफको ६१ औं मिनेटमा बर्नले गोल थप्दा न्युक्यासल २–० ले विजयी भयो ।
सहज जितसंगै न्युक्यासल अघिल्लो चरणमा प्रवेश गर्दा फुलहम भने प्रतियोगिताबाट बाहिरिएको छ ।
गयराति नै भएको एफए कपअन्तर्गत अन्य खेलहरुमा लुटन टाउनले एभर्टनमाथि २–१ को जित निकाल्दा ब्राइटनले सेफिल्ड युनाइटेडमाथि ५–२ को फराकिलो जित हासिल गर्यो ।
त्यस्तै, लेस्टर सिटीले च्याम्पियनसिप प्रतिद्वन्दी बिर्मिनघम सिटीमाथि ३–० को सहज जित रच्दा च्याम्पियनसिप क्लब लिड्स युनाइटेड प्लेमाउथ अर्ग्यलेसंग १–१ को बराबरीमा रोकियो ।