भक्तपुर । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको अन्तिम खेलमा नेपाल आज (मंगलवार) राति ओमानसंग प्रतिस्पर्धामा उत्रिदैछ ।
साउदी अरबियाको प्रिन्स मोहमेद बिन फाहद रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने १२ (११ः४५) बजे सुरु हुने तालिका रहेको छ ।
दोस्रो चरणको छनोट यात्रामा खराब प्रदर्शनबाट गुर्जिरहेको नेपालले हालसम्म खेलेको पाँच खेलमा सबैमा हार बेहोर्दै अंकको खाता नै खोल्न सकेको छैन ।
नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) संग होम एन्ड अवे गरि दुबै खेलमा समान ४–० को हार बेहोर्दा समग्रमा ८–० को पराजय बेहोर्यो ।
त्यस्तै, बहराइनसंग होम गेममा ५–० को फराकिलो हार बेहोर्दा अबे गेममा ३–० को हार आत्मसाथ गर्दै समग्रमा ८–० ले पराजय बेहोर्यो ।
यता, यमनसंग भने होम गेमअन्तर्गत काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले २–० को हार बेहारेको थियो ।
यसमानेमा हालसम्म नेपालले खेलेका सबै खेलहरुमा १८ गोल खाँदा एउटै पनि गोल हान्न सकेको छैन ।
समूह तालिकामा युएई पाँच खेलबाट शतप्रतिशत जितसहित १५ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
बहराइनले भने पाँच खेलबाट तीनमा जित समान एक–एक खेलमा बराबरी र हारको नतिजासहित १० अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, यमनले पनि पाँच खेल खेलिसक्दा एकमा जित, एकमा बराबरी र तीनमा हारको नतिजासहित ४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
नेपाल भने शुन्य अंकसहित तालिकाको पुच्छारमा रहेको छ ।
यसअघि नै विश्वकप छनोट यात्राबाट बाहिरिसकेको नेपालले आज अंकको खाता खोल्दै सुखद अन्त्य गर्ने तयारी गरेको छ ।