
भक्तपुर । फिफा विश्वकपअन्तर्गत आइतवार दोस्रो चरणका दुई खेलहरु भए ।
पहिलो खेलमा उपाधि रक्षा अभियानमा रहेको साविक विजेता फ्रान्स र दोस्रो खेलमा उपाधि दाबेदार मानिएको राष्ट्र इंग्ल्याण्डले आ–आफ्ना खेलहरुमा जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेका छन् ।
स्टार खेलाडीहरुले भरिएको फ्रान्सले पोल्याण्डमाथि ३–१ को जित हात पार्दा बलियो थ्री लायन्सका रुपमा परिचित इंग्ल्याण्डले अफ्रिकी राष्ट्र सनेगलमाथि ३–० को सहज जित निकाल्यो ।
अब क्वाटरफाइनलमा फ्रान्स र इग्ल्याण्डबीच आमनेसामने हुने भएको छ ।
दोस्रो चरणअन्तर्गत सोमवार पनि दुई खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा एसियाली राष्ट्र जापान र युरोपेली राष्ट्र क्रोएसिया भिड्दैछ भने दोस्रो खेलमा उपाधि दाबेदार मानिएको राष्ट्र ब्राजिल र एसियाली राष्ट्र दक्षिण कोरियावीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो खेल राति पौने ९ बजे सुरु हुनेछ भने दोस्रो खेल राति पौने १ बजे हुँदैछ ।
जापानविरुद्व क्रोएसिया
एसियाली पावरहाउस जापान र साविक उपविजेता क्रोएसियाबीच यसअघि दुईपल्ट विश्वकपमा आमनेसामने भएको छ ।
युरोपेली राष्ट्र क्रोएसियाले जापानविरुद्व एकमा जित र अर्को बराबरी नतिजा निकालेको छ । सन् १९९८ को पहिलो भेटमा जापान क्रोएसियासंग १–० ले पराजित रहँदा पछिल्लो सन् २००६ मा गोलरहित बराबरीमा रोकिएको थियो ।
जापानले क्रोएसियाविरुद्व दुबै खेलमा गोल गर्न सकेन ।
जारी कतार विश्वकपमा डार्क हर्सको रुपमा परिचय बनाएको जापानले समूह चरणको दुई खेलमा बलिया राष्ट्रहरु पराजित गरि समूह विजेताका रुपमा अन्तिम १६ को स्थान पक्का गरेको हो ।
जापानले पहिलो खेलमा जर्मनीमाथि सनसनीपूर्ण रुपले २–१ को जित हात पार्दा तेस्रो खेलमा पनि बलिायो स्पेनमाथि २–१ कै जित निकाल्यो ।
यदि आजको खेलमा क्रोएसियाले जापानलाई नजर अन्दाज गर्यो भने त्यो ठूलो भूल हुनेछ ।
क्रोएसियाले भने समूह चरणमा एक खेलमा जित र दुई खेल बराबरी खेल्दै समूहको उपविजेताका रुपमा दोस्रो चरण पक्का गरेको हो ।
पछिल्लो फिफा वरियतामा २४ औं स्थानमा रहेको जापान हालसम्म पाँचपटक विश्वकपको अन्तिम चरण पुगेको छ । तर, जापान अन्तिम १६ बाट माथि पुग्न सकेको छैन ।
आज बलियो राष्ट्र क्रोएसियामाथि जित हात पार्दै जापान इतिहास रच्ने ध्यानमा हुनेछ ।
यता क्रोएसिया पनि एसियाली राष्ट्रविरुद्व सचेत रहँदै क्वाटरफाइनल पुग्न चाहन्छ । रसिया विश्वकपको उपविजेता क्रोएसिया सन्तुलित टिमका रुपमा रहेको छ ।
फिफा वरियतामा १२ औं स्थानमा रहेको क्रोएसिया र जापानबीच अल जानोब रंगशालामा प्रतिस्पर्धा गर्नेछ ।
ब्राजिलविरुद्व दक्षिण कोरिया
विश्व फुटबलको सर्वाधिक सफल राष्ट्र ब्राजिल सदाझै यसपल्ट पनि मूख्य दाबेदार राष्ट्र हो ।
सर्वाधिक पाँच पटकका विश्व विजेता राष्ट्रको सुरुवाती ११ टिममात्र होइन, बेन्चमा रहेका ब्याकअप टिम पनि एकदम बलियो रहेको छ । स्टार खेलाडीहरुले भरिएको राष्ट्र ब्राजिल यसपल्ट कतारमा विश्वकप उचाल्ने मनसायमा रहेको छ ।
पछिल्लोपटक सन् २००२ मा विश्वकप जितेयता अहिलेको ब्राजिली राष्ट्रिय टिम सर्वाधिक बलियो रहेको छ । कप्तान नेइमार जुनियर चोट मूक्त भएको खबर ब्राजिली टिमको लागि थप हौसला बनेको छ ।
एसियाली राष्ट्र कोरियासंग विश्व वरियतामा शीर्ष स्थानमा रहेको ब्राजिलको यसअघि ७ भेट भएको छ । जसमा ब्राजिलले ६ खेल जितेको छ भने एउटामा हार बेहोरेको छ ।
पछिल्लोपटक जुनमा यी दुई राष्ट्र अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरेका थिए । जसमा ब्राजिल ५–१ ले विजयी रहेको थियो ।
पाउलो बन्टोको प्रशिक्षणमा रहेको कोरियाको उद्देश्य ब्राजिलविरुद्व राम्रो प्रदर्शन गर्नु हुनेछ । वर्तमान फिफा विश्वकपमा २८ औं स्थानमा रहेको एसियाली राष्ट्र सन ह्युन मिनको कप्तानीमा रहेको छ ।
सन् २००२ मा आफ्नै भूमीमा भएको विश्वकपमा सेमिफाइनलसम्म पुग्नु कोरियाको अहिलेसम्मको ठूलो उपलब्धी हो ।
यी दुई राष्ट्रबीचको खेल ९७४ रंगशालामा हुनेछ ।