
भक्तपुर । फिफा विश्वकपअन्तर्गत सोमवार दोस्रो चरणका दुई खेलहरु भए । पहिलो खेलमा साविक उपविजेता क्रोएसिया र दोस्रो खेलमा उपाधि दाबेदार मानिएको राष्ट्र ब्राजिलले आ–आफ्ना खेलहरुमा जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेका छन् ।
लुक्का मोड्रिचको कप्तनीमा रहेको क्रोएसियाले एसियाली पावर हाउस जापानमाथि पेनाल्टी सुटआउटमा ३–१ को जित हात पार्दै अन्तिम आठमा स्थान बनायो ।
यसअघि निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय १–१ को बराबरीमा सकिएसंगै खेल ट्राईब्रेकरमा गएको थियो । यता, दोस्रो खेलमा बलियो ब्राजिलले अर्को एसियाली राष्ट्र दक्षिण कोरियामाथि ४–१ को फराकिलो जित निकाल्यो ।
अब क्वाटरफाइनलमा साविक उपविजेता क्रोएसियाले उपाधि दाबेदार ब्राजिलसंग प्रतिस्पर्धा गर्ने भएको छ ।
दोस्रो चरणअन्तर्गत मंगलवार पनि अन्तिम १६ का अन्तिम दुई खेलहरु हुँदैछन् ।
आजको पहिलो खेलमा उत्तर अफ्रिकी राष्ट्र मोरक्को र युरोपेली राष्ट्र स्पेन भिड्दैछ भने दोस्रो खेलमा क्रिचियानो रोनाल्डोको कप्तानीमा रहेको राष्ट्र पोर्चुगल र युरोपेली राष्ट्र स्विजरल्याण्डवीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो खेल राति पौने ९ बजे सुरु हुनेछ भने दोस्रो खेल राति पौने १ बजे हुँदैछ ।
मोरक्कोविरुद्व स्पेन
उत्तर अफ्रिकी राष्ट्र मोरक्को सन् १९८६ पछि पहिलोपल्ट विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।
जारी विश्वकपको समूह ‘एफ’ मा रहेको द एटलास लायन्सका रुपमासमेत परिचित राष्ट्रले दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा ल्याउँदै समूह विजेताका रुपमा दोस्रो चरण प्रवेश गरेको हो ।
हाल फिफा वरियतामा २२ औं स्थानमा रहेको यस राष्ट्रले स्पेनसंग एकपटक प्रतिस्पर्धा गरेको छ ।
यसअघि सन् २०१८ को विश्वकपमा समूह चरणमा यी दुई राष्ट्र आमनेसामने भएको थियो । जसमा दुबै टोलीले २–२ को बराबरी खेलेका थिए ।
इड्युकेशन सिटी रंगशालामा आज राति दुबै टोली भिड्दै गर्दा दुबैको नजर क्वाटरफाइनलतर्फ रहनेछ ।
फिफा बरियतामा ७ औं स्थानमा रहेको स्पेन तुलानात्मक रुपमा बलियो देखिएको छ । स्पेन सन् २०१० को विजेता राष्ट्रसमेत हो ।
पोर्चुगलविरुद्व स्विजरल्याण्ड
यो वर्ष अर्थात् सन् २०२२ मा यी दुई युरोपेली राष्ट्र तेस्रोपटक आमनेसमने हुन लागेका हुन् । यसअघि जुनमा भएको यूईएफए नेसन्स कपमा यी दुई राष्ट्र भिडेका थिए ।
लिज्बनमा भएको पहिलो खेलमा पोर्चुगल ४–० ले विजयी रहेको थियो । तर, त्यसको एक हप्ता पछि जेनेभामा स्विजरल्याण्ड १–० ले विजयी रह्यो ।
२१ औं सताब्दी सुरु भएयता यी दुई राष्ट्रबीच ६ खेल भएका छन् । जसमा ३–३ पटक दुबै टिमले जितेका छन् ।
सन् १९६६ को विश्वकपमा तेस्रो हुनु पोर्चुगलको अहिलेसम्मकै ठूलो उपलब्धि हो । तर, यसपाली विश्वकप जित्नको लागि पोर्चुगिच टिमले अथक मिहिनेत गर्ने छ । किनकी उसका कप्तान क्रिस्चियानो रोनाल्डोको सम्भवत यो अन्तिम विश्वकप हो ।
फर्नान्डो सान्तोसको नेतृत्वमा रहेको हालको पोर्चुगिच टोली बलियो पनि रहेको छ । फिफा वरियताको ९ औं स्थानमा रहेको पोर्चुगलका लागि विश्वकप उचाल्न पहिला आज राति स्विजरल्याण्डलाई पाखा लगाउन पर्नेछ ।
अ टिम नातीका रुपमा पनि चिनिने स्विजरल्याण्डले भने ३ पटक फिफा विश्वकपमा क्वाटरफाइनलसम्म यात्रा गरेको छ ।
पछिल्लो फिफा वरियतामा १५ औं स्थानमा रहेको यो राष्ट्रले आज चिरपरिचत पोर्चुगललाई स्तब्ध तुल्याउदै अन्तिम आठको यात्रा तय गर्ने प्रयासमा हुनेछ ।
यी दुई राष्ट्रबीचको खेल लुसाइल आइकोनिक रंगशालामा हुनेछ ।