भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगअन्तर्गत पाँचौ खेलमा फार वेस्ट युनाइटेडले काठमाडौं नाइट्समाथि चार विकेटको जित हात पारेको छ ।
सोमवार जितका लागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको फार वेस्ट युनाइटेडले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
फार वेस्टका लागि कप्तान हशमतुल्लाह शाहिदीले ४९ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाउँदै अविजित रहे ।
देव खनाल २८ बलमा २ चौकासहित १७ रनमा आउट भए । यता, भीम सार्की ११, विनोद भण्डारी ४, बसन्त कार्की शून्य र उमेर अली एक रनमा आउट भए ।
हरिशंकर शाह शून्यमा आउट हुँदा करण केसी ७ बलमा १ चौकासहित ८ रनमा अविजित रहे ।
काठमाडौंका अनिल खरेलले २ विकेट लिए । त्यस्तै, आजमतुल्लाह ओमरजाई, रयान बर्ल, बसिर अहमद र अभिनाश बोहराले एक–एक विकेट लिए ।
त्यसअघि क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन बनायो ।
काठमाडौंका लागि एलेक्स ब्लेक ३७ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाउँदै अविजित रहे ।
खराब लयले गर्दा काठमाडौंका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले १३ रन जोड्दा सन्तोष कार्की १२, विरनदीप सिंहले ४ बनाउँदै आउट भए ।
फार वेस्टका उमेर अलीले ३ विकेट लिए । त्यस्तै, हशमतुल्लाह शाहिदी र भुवन कार्कीले २–२ विकेट लिए । शेर मल्लले १ विकेट लिए ।