एजेन्सी । इंग्लिस महारथी म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ ।
सनिवार राति भएको खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी लुटन टाउनमाथि ५–१ को फराकिलो जित निकाल्दै साविक विजेता म्यानचेस्टर सिटी लिगको शीर्ष स्थानमा उक्लेको हो ।
सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा इर्लिङ हालान्ड, माटेओ कोभाकिक, जेरेमी डोकु र जस्को ग्भाड्रिओलले गोल गर्दा अर्को एक गोल भ्रमणकारी टोलीका डाइकी हाशिओकाको आत्मघाती गोलमार्फत् प्राप्त भयो ।
पराजित टोलीका लागि रोस बार्कक्लेले सान्तोना गोल फर्काए ।
खेल सुरु भएको दोस्रो मिनेटमा हाशिओकाको आत्मघाती गोलमार्फत् सिटीले सुरुवाती अग्रता लियो ।
यता, दोस्रो हाफको ६४ औं मिनेटमा जुलियान अल्भारेजको पासमा कोभाकिकले गोल गर्दा सिटी २–० ले अघि बढ्यो ।
त्यस्तै, ७६ औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दा साविक विजेता टोली ३–० को आरामदायी अग्रतासहित अघि बढ्यो ।
तर, ८१ औं मिनेटमा बार्कक्लेले गोल फर्काउँदा खेल ३–१ को अवस्थामा आयो ।
यता, ८७ औं मिनेटमा ग्भाड्रिओलको पासमा डोकुले गोल गर्दा सिटी ४–१ ले अघि बढ्यो ।
इन्जुरी समयको तेस्रो मिनेटमा डोकुको असिस्टमा ग्भाड्रिओलले गोल गर्दा सिटी ५–१ ले विजयी भयो ।
फराकिलो जितसंगै शीर्ष स्थानमा उक्लेको सिटीको ३२ खेलमा ७३ अंक भएको छ ।
पराजित लुटन टाउनको भने ३३ खेलमा २५ अंकसहित तालिकाको १८ औं स्थानमा रहेको छ ।
सनिवार नै भएको अन्य खेलहरुमा न्युक्यासल युनाइटेडले टोटनहम हटस्परमाथि ४–० को फराकिलो जित रच्दा ब्रेन्टफोर्डले सेफिल्ड युनाइटेडमाथि २–० को जित निकाल्यो ।
त्यस्तै, बर्नलीसंग ब्राइटन १–१ को बराबरीमा रोकिँदा नटिङघम फोरेस्ट र उल्भ्सले २–२ को बराबरी खेले ।