
एजेन्सी । इंग्लिस क्लब लिभरपूलले स्पार्टामाथि फराकिलो जित निकाल्दै युरोपली फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
विहिवार राति भएको अन्तिम १६ अन्तर्गत दोस्रो लेग खेलमा उपाधि दाबेदार लिभरपूलले चेक रिपब्लिक क्लब स्पार्टामाथि ६–१ को फराकिलो जित निकादै समग्रमा ११–२ को जितका साथ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
इंग्लिस क्लबको घरेलु मैदान एन्फिल्ड रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा कोडी गाक्पोले दुई गोल गर्दा डार्विन नुनेज, मोहम्म्द सल्लाह, बबी क्लार्क र डोमिनिक स्जोबोसज्लाईले समान एक–एक गोल गरे ।
भ्रमणकारी टोलीका लागि भेल्जको बिरमानसेभिकले सान्तोना एक गोल फर्काए ।
खेल सुरु भएको सातौं मिनेटमा स्जोबोसन्लाईको पासमा नुनेजले गोलको खाता खोल्दै लिभरपूललाई सुरुवाती अग्रता दिलाए ।
त्यसको एक मिनेटपछि नै सल्लाहको पासमा क्लार्कले गोल थप्दा मर्सिसाइड क्लब २–० ले अघि बढ्यो ।
त्यसपछि १० औं मिनेटमा क्लार्कको पासमा सल्लाहले गोल गर्दा रेड्सका रुपमा समेत चिनिने लिभरपूल ३–० ले अघि बढ्यो ।
त्यसको चार मिनेटपछि सल्लाहकै असिस्टमा गाक्पोले गोल गर्दा मर्सिसाइड क्लब ४–० ले अघि बढ्यो ।
यता, ४२ औं मिनेटमा स्पार्टाका बिरमानसेभिकले एक गोल फर्काउँदा खेल ४–१ को अवस्थामा आयो ।
दोस्रो हाफको ४८ औं मिनेटमा सल्लाहकै पासमा स्जोबोसज्लाईले गोल गर्दा घरेलु टोली ५–१ ले अघि बढ्यो ।
५५ औं मिनेटमा हार्भे इलियोटको पासमा गाक्पोले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा लिभरपूल ६–१ ले विजयी भयो ।
त्यसअघि पहिलो लेग खेलमा पनि लिभरपूलले स्पार्टामाथि ५–१ को फराकिलो जित निकालेको थियो ।