![4034256-81822768-2560-1440](https://i0.wp.com/www.kheldabali.com/wp-content/uploads/2024/09/4034256-81822768-2560-1440.jpg?resize=696%2C391&ssl=1)
एजेन्सी । इर्लिङ हालान्ड प्रेरित खेलमा म्यानचेस्टर सिटीले प्रिमियर लिगअन्तर्गत खेलमा वेस्टह्याम युनाइटेडमाथि सहज जित निकालेको छ ।
सनिवार राति भएको खेलमा हालान्डको ह्याट्रिकमा साविक विजेता समेत रहेको म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडमाथि ३–१ को सहज जित निकालेको हो ।
वेस्टह्यामको घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा १० औं मिनेटमा बेनार्डो सिल्भाको असिस्टमा हालान्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए ।
तर, १९ औं मिनेटमा सिटीका डिफेन्डर रुवेन डाइसले आत्मघाती गोल गर्न पुग्दा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ३० औं मिनेटमा रिको लेविसको असिस्टमा हालान्डले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा भ्रमणकारी टोली २–१ ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ८३ औं मिनेटमा म्याथ्युज नुनेजको पासमा हालान्डले ह्याट्रिक पूरा गर्दा सिटी ३–१ ले विजयी भयो ।
सहज जितसंगै सिटीले लिगमा तीन खेल खेलिसक्दा शतप्रतिशत नतिजा आत्मसाथ गर्दै ९ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।
पराजित वेस्टह्यामको भने समान तीन खेलमा तीन नै अंकसहित तालिकाको १४ औं स्थानमा झरेको छ ।