एजेन्सी । प्रिमियर लिगको बलिया दुई क्लब म्यानचेस्टर सिटी र आर्सनलले बराबरी खेलेका छन् ।
आईतवार राति भएको हेभिवेट खेलमा साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले २–२ को बराबरी खेलेका हुन् ।
सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा घरेलु टोली सिटीका लागि इर्लिङ हालान्ड र जोन स्टोन्सले गोल गर्दा आर्सनलका लागि रिकार्डो कालाफियोरी र ग्राबियलले गोल गरे ।
खेल सुरु भएको ९ औं मिनेटमा साभिन्होको पासमा हालान्डले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, २२ औं मिनेटमा ग्राबियल मर्टिनेलीको पासमा कालाफियोरीले आर्सनलका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बुकायो साकाको पासमा ग्राबियलले गोल थप्दा आर्सनल २–१ ले अघि बढ्यो ।
यता, इन्जुरी समयकै आठौं मिनेटमा लियान्ड्रो ट्रोस्सार्डले दोहोरो पँहेलो कार्ड पाउँदा आर्सनल १० खेलाडीमा समेतियो ।
दोस्रो हाफमा खेलमा फर्किन संघर्षरत सिटीले १० खेलाडीमा समेतिएको आर्सनलसंग कडा प्रतिस्पर्धा गर्नुपर्यो ।
खेलको अन्त्यतिर इन्जुरी समयको आठौं मिनेटमा जोन स्टोनले सिटीका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा सकियो ।
बराबरीसंगै सिटीको पाँच खेलबाट १३ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा कायम छ ।
आर्सनलको पाँच खेलबाट ११ अंकसहित तालिकाको चौथौं स्थानमा रहेको छ ।