एजेन्सी । इंग्लिस महारथी म्यानचेस्टर सिटी प्रिमियर लिगअन्तर्गत खेलमा न्युक्यासल युनाइटेडसंग बराबरीमा रोकिएको छ ।
सनिवार भएको खेलमा साविक विजेता समेत रहेको म्यानचेस्टर सिटी न्युक्यासल युनाइटेडसंग १–१ को बराबरीमा रोकिएको हो ।
न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्क रंगशालामा भएको खेलमा सिटीका लागि जस्को गभार्डियोल र घरेलु टोलीका लागि एन्टोनी गोर्डनले गोल गरे ।
पहिलो हाफको ३५ औं मिनेटमा ज्याक गिर्लिसको पासमा गभार्डियोलले गोल गर्दै सिटीलाई १–० ले अघि बढाए ।
तर, दोस्रो हाफको ५८ औं मिनेटमा गोर्डनले पेनाल्टीमा गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि खेलमा थप गोल भएन र दुबै टोलीले एक–एक अंक बाँडे ।
जारी प्रिमियर लिगमा साविक विजेता सिटीले ६ खेल खेलिसक्दा १४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
न्युक्यासलको भने समान ६ खेलमा ११ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।