एजेन्सी । लण्डन क्लब चेल्सीले प्रिमियर लिगअन्तर्गत खेलमा एएफसी बर्नमाउथमाथि कठिन जित निकालेको छ ।
सनिवार राति भएको खेलमा बलियो चेल्सीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी एएफसी बर्नमाउथमाथि १–० को कठिन जित निकालेको हो ।
बर्नमाउथको घरेलु मैदान भिटालिटी स्टेडियममा भएको खेलमा भ्रमणकारी टोली चेल्सीलाई जिताउन खेलको अन्तिम समयतिर क्रिस्टोफोर एनकोकुले निर्णायक गोल गरे ।
पहिलो हाफको ३८ औं मिनेटमा इभानिलसनले पेनाल्टी चुकाउँदा बर्नमाउथ अग्रता लिने सुनौलो अवसरबाट बञ्चित बन्यो ।
यता, दोस्रो हाफको अन्त्यतिर ८६ औं मिनेटमा जोडन सान्चोको पासमा एनकोकुले गोल गर्दै चेल्सीलाई १–० को जित दिलाए ।
जितसंगै चेल्सीले चार खेलबाट सात अंक जोडेर लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ ।
पराजित बर्नमाउथको भने चार खेलबाट पाँच अंकसहित तालिकाको ११ औं स्थानमा झरेको छ ।